एजेन्सी–अमेरिकी प्राध्यापकहरुले अमेरिकी तथा चिनियाँ अर्थतन्त्रलाई पूर्ण रुपमा अलग गर्न असम्भव रहेको बताएका छन्। यस्तो कार्यले चीनसँग मात्र नभई विश्वका अन्य मुलुकसँग पनि अमेरिकाको आर्थिक सम्बन्धमा कमी आउने उनीहरुको भनाइ छ।
उनीहरुले ‘डिकपलिङ’ नीतिले अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाउने बताएका छन्। जर्ज वासिङ्टन विश्वविद्यालयका राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाविद् प्राध्यापक हेनरी फारेल र जर्जटाउन विश्वविद्यालय एडमण्ड ए वेल्स स्कूल अफ फरेन सर्भिसका प्राध्यापक अब्राहम न्यूम्यानले ‘फरेन अफेयर्स’ पत्रिकाको एक विश्लेषणात्मक आलेखमा यस्तो बताएका हुन्।
उनीहरूले आफ्नो लेखमा भनेका छन्, ‘चीनमाथिको जोखिमपूर्ण आर्थिक निर्भरता हटाउन चिनियाँ अर्थतन्त्रसँगको सम्बन्धलाई अलग गरिने सोचसहितको असावधानीपूर्ण प्रयासले त्यो मुलुकलाई मात्र होइन कि बाँकी विश्वलाई पनि स्वस्थ र महत्वपूर्ण आर्थिक सम्बन्ध विस्तार गर्ने बाटोलाई बन्द गरिदिन्छ।’
‘चीनको अर्थतन्त्र विश्वबाट सहजै अलग गर्न सकिने भिन्न कुनै जीव होइन बरू सायमिज जुम्ल्याहा हुन् जसको सम्बन्ध स्नायु तन्तु, साझा अङ्ग र संयुक्त सञ्चार प्रणालीसँग जोडिएको छ,’लेखमा भनिएको छ।
ती दुई विज्ञहरूले हुवावेमाथिको प्रतिबन्धको उदाहरण दिँदै लेखमा भनेका छन्, ‘हुवावेको पहुँचलाई अमेरिकी प्रविधिमा प्रतिबन्ध लगाइँदा विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति सञ्जाललाई गैर–अमेरिकी प्रविधिमा मिल्नेगरी पुनः संरचना गर्न उद्दत गरे।’
‘ ‘वैदेशिक व्यवसाय तथा मुलुकहरूले अमेरिकी अर्थतन्त्रसँगको सम्पर्कलाई सीमित राखी जोखिम कम गर्न सक्ने निर्णय गर्न सक्छन्,’ लेखमा भनिएको छ,
चीनलाई अमेरिकी नयाँ आविस्कारसँग अलग गर्दा चीनले अमेरिकी आविष्कारलाई पनि आफ्नो प्रणालीबाट बाहिर पार्ने सम्भावना रहने र यसका कारण अमेरिकाको अन्य आविस्कार प्रणालीसँगको पहुँचलाई पनि गुमाउने जोखिम अत्यधिक रहने प्राध्यापकहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।