काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले काठमाडौं ३२ नम्बर कमलादी स्थित रहेको काठमाडौं प्लाजाको भवन खाली गर्ने सूचना प्रकाशन गरेको छ।
कार्यालयले २०५० असार ३ गते भएको काठमाडौं प्लाजा रहेको जग्गा भाडाको लिज सम्झौता सकिएको कारण भवन खाली गर्ने भन्दै सूचना प्रकाशन गरेको छ। नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिनेगरी २०५० असार ३ गते सम्झौता भएको थियो।
उक्त जग्गामा भाडामा दिने काम तत्कालीन राजदरबारले गरेको थियो। तर, पछि स्वर्गीय राजा विरेन्द्र र ऐश्वर्यको निधनपछि उनको नामका रहेको रकम नेपाल ट्रष्टमा ल्याउने काम भएको थियो। नेपाल ट्रष्टको नाममा जग्गा आएसँगै २०६६ पुस २३ गते पुनः लिजसम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो।
कार्यालयले उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको भन्दै भवन खाली गर्न सूचना प्रकाशन गरेको हो। उक्त भवन अहिले ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई मासिक ६२ लाख रुपैयाँ उक्त भवन भाडामा दिनेगरी सम्झौता गर्ने तयारी गरेको छ।
उक्त सम्झौता अगाडि बढाएसँगै कार्यालयले भवन खाली गदै हस्तान्तरणम गर्न लिज भाडामा दिने कम्पनीको नाममा सूचना प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।