काठमाडौं- शेयर बजार घट्ने डरमा केही लगानीकर्ताको संघ संघठनको आडमा नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डले दोस्रो बजारलाई बन्धक बनाएका छन्। पूर्णरुपमा अनलाइन कारोबारको भएको दाबी गर्ने नेप्से र बोर्डले बजार खोल्ने अडान लिन नसक्दा लकडाउन खुला हुँदा पनि थप चार दिन बजार बन्द गर्ने घोषणा गर्नु आफैंमा बजारको सामान्य सिद्धान्तभन्दा विपरित हो।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दा शेयर बजार पनि बन्द भएको थियो। सरकारले बैशाख २६ गतेदेखि अत्यावश्यकीय वस्तु तथा सेवाका क्षेत्रलाई खुला राख्ने निर्णय गर्दा बोर्डले बैशाख ३० गतेदेखि बजार खुल्ने निर्णय गर्यो।
बजार खुलेको पहिलो दिनमा नै नकारात्मक सर्किट लाग्यो। दोस्रो दिनमा पनि नकारात्मक सर्किट लागेपछि लगानीकर्ता नेप्से र बोर्डमा बजार बन्द गर्नुपर्यो भन्दै दबाब दिन पुगे। बजार अझै घट्ने डरमा लगानीकर्ताका प्रतिनिधिहरुले बजार बन्द गर्नुपर्यो भन्दै चर्को विरोध गरे।
लगानीकर्ताको विरोधपछि बोर्डले नेप्सेलाई बजार बन्द गर्न निर्देशन दियो। जतिबेला बोर्डले लगानीकर्ताको यथेष्ठ उपस्थिति नहुँदा बजार बन्द गर्नु परेको स्पष्टीकरण दियो। अनलाइन प्रयोगकर्ता न्यून हुँदा बजार सञ्चालन गर्न नसकिएको बोर्डका प्रवक्ता निरज गिरीले स्पष्टीकरण दिए।
तर बोर्डले दिएको स्पष्टीकरणको पछाडि केही लगानीकर्ता समूहले गर्ने अराजक व्यवहारको डरमा पोलिसीहरु बन्ने गरेका छन्। सामाजिक सञ्जालमा विरोध गर्दैमा र धितोपत्र बोर्डमा पुग्दै बोर्डले आफ्नो नियामकीय दायित्व विर्सनु नै अहिलेको सबैभन्दा ठूलो समस्या हो।
नेप्से बजार सञ्चालन गर्न सधैं तयार रहेको तर नियामकीय निकायले नै बजार बन्द गर्ने निर्देशन दिएकोले बजार बन्द गर्नुपरेको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद बताउछन्। बजार खोल्नुपर्ने पक्षमा केही ब्रोकर पनि थिए। केही समय बोर्ड पनि बजार खोल्नुपर्ने पक्षमा थियो तर लगानीकर्ताको समूहको दबाब बेहोर्नुभन्दा सहज रुपमा उम्किन खोजेको देखिन्छ।
समाजिक सञ्जालको चर्को आवाजलाई आफ्नो आधिकारिक धारणा बनाउने संघ संघठन
समग्र अर्थतन्त्रको गहिराई र शेयर बजारको सैद्धान्तिक तथा प्राविधिक ज्ञान सहित बजारको विश्लेषण गर्दा कसैको आपत्ति नहोला। बजारको यथार्थ नबुझी सामाजिक सञ्जालको चर्को आवाजलाई प्रतिनिधित्व गर्दै नियामकीय निकायमा आवाज उठाउनु कत्तिको जायज? सामाजिक सञ्जालमा लगानीकर्ताका सयौं समूह छन्।
अर्कोपक्ष लगानीकर्ता संघ संघठनको आधिकारिकता के? एउटा संघठनमा चित्त नबुझ्ने बित्तिकै आफ्ना पारिवारिक सदस्य तथा नजिकका साथिभाई मिलेर खोलिने संगठनको आवाज सुन्नु कत्तिको जायज?
सहीलाई सही र गलतलाई गलत भन्न नसुक्नु नै नियामक निकायको कमजोरी हो। एउटा समूहलाई अर्को समूहले खुला विरोध गर्ने शैलीले नै शेयर बजारको सुधारका लागि भन्दा पनि स्वार्थपूर्ण कदमले उनीहरु बदनाम छन्।
शेयर बजार जस्तो संवेदनशील क्षेत्रमा जथाभावी धारणा बनाउने समूहका कारण नियामक निकाय प्रभावित छ।
शेयर बजारको विकास र विस्तारका लागि माग प्रस्तुत गर्दा लामो सूची बनाउने बाहेक उनीहरुसँग सुझबुझपूर्ण सुझाब भेटिदैन। साथै लगानीकर्ताको व्यवहारमा कैयौं अपरिपक्वता स्पष्ट रुपमा देखिन्छ।
बजार घट्ने डरले बजार बन्द गर्दा के होला?
शेयर बजार लिक्विडीटीको लागि हो। बजार घट्नु र बढ्नु सामान्य सिद्धान्त हो। बजार घट्ने बित्तिकै बन्द गर्ने नियामकीयको निर्णयले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक छबि बनाउने विज्ञहरु बताउछन्। शेयर बजारमा वैदेशिक लगानी भित्र्याउने तथा एनआरएनको लगानी भित्र्याउने भन्दै गर्दा उनिहरुले विगतको ट्र्याक रेकर्डलाई पनि हेर्छन्। यसले नेपालको शेयर बजारको रेटिङलाई पनि कमजोर बनाउछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।