कोरोनाको महामारीले विश्वलाई छोएको छ। जहाँ छन् नेपालीहरूले आफ्नो गाँउ ठाँउको खुबै याद गरिरहेका छन्। स्वदेशलाई हामी जननी भन्छौं। दुःख आपत पर्दा जननीभावसँग गासिन खोज्नु हाम्रो सभ्यता हो। आमा समान यो देशको प्रेममा सत्यको भाव झल्किन्छ। यो संकटको घडीमा अमेरिका,अष्ट्रेलिया, कतार, मलेसिया, भारतलगायत मुलुकमा हुने नेपालीहरू नेपाल फर्किन खोज्नु र काठमाडौंमा भएकाहरू समेत हिँडेरै भएपनि आफ्नो गाउँ जान खोज्नुले मातृभूमिको भावना आखिरीमा महत्वपूर्ण हुनेरहेछ भन्ने कुरा प्रष्ट्याउँछ।
मातृभूमिभन्दा ठूलो चिज दुनियामा केही हुँदैन। विदेश एउटा कथाजस्तै हो, नलेखिएको वा नदेखिएको। जब देखिन्छ वा भोग्न सुरु गरिन्छ‚ बिस्तारै मातृभूमिसँग टाढा बनाउँछ। विदेसिनुको व्यथा उस्तै छ। कोही कक्षा १२ पास गरेपछि अष्ट्रेलिया गएका छन्‚ कोही विशेषज्ञता हासिल गर्न अमेरिका गएका छन्। कोही घरको छानो फेर्न र गुजारा गर्न साउदी, कतार गएका छन्। होला देशले फर्किने माहौल बनाएन शायद। उतै श्रम बेच्न र अर्कैको देश बनाएर जवानी सिध्याउन विवश भए नेपालीहरू।
हो‚ विदेसिनु बाध्यता उनीहरूको थियो होला। तर धेरैपछि आज उनीहरूले फेरि देश सम्झिएका छन् र निराश हुँदै भनेका छन्‚ ‘यस्तो संकटमा पनि देशले लिन जहाज पठाएन।’ सुन्दैछु धेरै देशले नेपालीलाई आफ्नो देश फर्क भनिसकेका छन्। यो महामारीमा सरकारी सेवा सुविधा आफ्ना नागरिकलाई मात्र प्राथमिकतामा राखेर दिने भनेका रहेछन्। अनि कार्डिओलोजिस्ट डाक्टर भइकन अमेरिकामा एक नेपाली कोरोना लाग्दा स्वास्थ्य सेवाबाट प्रताडित भएछन्।यो आपतको बेलामा सबैका आँखा वरिपरि आफ्ना परिवार समाज गाउँ ठाउँ साथीभाइ इष्टमित्र घुमिरहेछन्।
संकटमा उजागर भएपनि यो स्वदेश प्रेम स्वागतयोग्य छ। यो देशभक्ति कायम राख्नु जरुरी छ। उनीहरूका लागि विदेश एउटा सपना थियो, झिलीमिली थियो होला, आफू र परिवार उकास्ने सिढीं पनि थियो होला तर कोरोना महामारीले विदेशिएको नेपालको दक्ष जनशक्ति देशको विकासमा प्रयोग गर्ने अवसर दिएको छ। त्यसैले उनीहरूलाई फर्काउन र स्थायी रुपमा नै नेपालमा बस्ने वातावरण सिर्जना गर्न ढिलो नगरौं।
प्रिय प्रधानमन्त्रीज्यूसँग मेरो आग्रह- जतिसक्दो चाँडो विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन पहल गरिदिनुहोस्। संख्या लाखौं होला, तर साँच्चै दुःख भोगिरहेका र नेपालमा नै गएर केही गर्ने अठोट बोकेकालाई प्राथमिकतामा राखेर फिर्ता ल्याउने कोशिस गरौं। एयरपोर्टमा नै टेस्ट गर्ने व्यवस्था मिलाएर प्रदेश एवं स्थानीय सरकारसँगको सहकार्यमा सजगता एवं स्वास्थ्य आचरसंहिताहरू पालना गर्न लगाएर घर फिर्ता गराउन सकिन्छ। अरु देशको तुलानामा ठूलो संख्यामा विदेशी भूमिबाट नेपाली फिर्ता ल्याउनु चुनौती त छँदैछ तर नक्सा जारीसँगै जुन वाहवाही हजुरले पाउनुभएको छ, यस कार्य सफल गर्न सक्नुभएमा हजुरको गुणगान गाउन नेपालीहरू थाक्नेछैनन्।
स्वदेशका श्रमका औजारहरू उनीहरूलाई कुरिहेछन्। यहाँका कोदालीहरू, दाउराका भारीहरू, हलो र असार पन्ध्रहरू उनीहरूकै बाटो हेरिरहेछन्। अमेरिकामा बसेर कृषि क्रान्तिका गफ गरेर देश कृषिमा आत्मनिर्भर हुन सक्दैन। यहाँका कक्षा कोठाहरू, घुम्ने मेचहरू, दूरदराजका अस्पतालहरू, सिंहदरबारका आसनहरू दक्ष जनशक्तिकै प्रतिक्षामा छन्। देशले एउटा आशा गरिरहेछ, जुन आर्यभावना बाल्यकालमा हरेक मनुष्यमा नै मातृभूमिले जागृत गरेको हुन्छ‚ त्यसको फेरो समाउदै साँझ परेपछि गुँड फर्किने चराहरूजस्तै एकदिन फर्किआउनेछन् स्वदेशमा नै आफ्ना सन्तानहरू।
साँच्चै यो नाता कस्तो हो? जवानीमा नै जननीसँग वियोगिन्छौं र बिर्सिएर जान्छौं। के हामी लाचार छौं? भूकम्प आउँदा ७२ सालमा सबैले गाउँ फर्किने अठोट गर्यौं तर बिस्तारै भुल्दै गयौं। विपत्ति आउँछ, हामीलाई झस्काउँछ फेरि उही अवस्थामा फर्किन्छौं। अहिले कोरोनाको कहर छ, कतिखेर नेपाल फर्कौं र आफन्त भेटौंको मनोदशामा गुज्रिरहेछन् सबै। तर यो कस्तो सम्बन्ध? क्रुरताले सम्झाउने र शितलताले बिर्साउने। मातृभूमिको माया आफ्ना सन्तानप्रति सदैव रहने तर विदेशीनेहरूको माया मुतको न्यानोमात्र ठहरिने, यो कस्तो विडम्बना?
हामी मानव जाती हौं। विषाणु, जिवाणु र प्रकृतिका अवयवहरूभन्दा पनि श्रेष्ठ भन्ठान्थ्यौं। तर कोरोना प्रकोपले हाम्रो सोच र क्रियाहरूमा पूर्णविराम लगाइदिएको छ। हामी जहाँ‚ जस्तो अवस्थामा छौं‚ त्यही बस्न बाध्य बनाइएका छौं। र हरेक चीज धारण गर्नु मानवजातीको धर्म हो, धर्म जन्मभूमिको हृदयबाट निस्केको हुन्छ। जहाँ जता नै हाम्रो सत्ता रहेपनि जन्मभूमिको भाव खँदिलो रहन्छ‚ जुन हाम्रो परस्पर श्रद्धा र जन्मभूमिप्रतिको सेवाले निर्धारण गर्छ।
हाम्रो जीवन, धन र सर्वस्व नै आखिर के रहेछ? यी सबैका लागि बिलौना गर्नु नै कत्तिको बुद्धिमानी रहेछ? सुन्दर सपनाको पछि पछि भागी हिँड्नेहरूले सोच्नुपर्नेछ। दुःख पर्दा आसुँ झर्दा, आफ्नोपनको मोहनी एउटा मातृभूमिले जागृत गर्न सक्छ भने किन मातृभूमि सिंगार्न हामी आफ्नो जवानी खर्च गर्न सक्दैनौं? नेपालमा पुरै अँधेरोमात्र देख्नेहरूले किन ज्योतिको पुञ्ज ल्याएर पोख्न सक्दैनन्? के देशलाई सरापेर र नेतालाई धिक्कारेर मात्र विकास हुन्छ र? जबसम्म देशले आफ्नो पूँजी, श्रम र जनशक्ती सँग सँगै जोड्न सक्दैन, हामीले हाम्रो देश भनेर गर्व गरिरहन लायकको बन्नै सक्दैन।
आखिरमा प्रकोप र महामारीले देखाउँछ हाम्रो देशको तस्बिर, हामीसँग साधन स्रोत केही छैन भन्ने कुरा। यो नहुनुमा तपाईं विदेशमा बसेर देश विकासको फुईं लाउने विज्ञ व्यक्ति कति ज़िम्मेवार? कहिले सोच्नुभएको छ?
आज त विश्वव्यापी महामारी छ‚ भोलि त किनार लाग्छ‚ लाग्छ तर यसबाट आफूभित्र स्वदेश प्रेमको अंकुर सबैले उमारेनौं भने युवा जनशक्ति कै अभावमा देश पछाडि परिरहनेछ। अनि यसैगरी आफू संकटमा पर्दा देश पुकारिरहनेछौं र देशले चाहेर पनि हामीलाई केही गर्न सक्ने छैन। किन कि देश बनाउने ज़िम्मेवारी हाम्रो काँधमा पनि छ। यो महामारीले सबैको बुद्धि फिरोस्। केही दिनलाई होइन सधैंलाई देश फिर्ने जाँगर चलोस्। होलान् हतोत्साहित गर्ने राज्य व्यवस्था,प्रणाली र संरचनाहरू, सबै मिलेदेखि प्रश्न उठाएदेखि बाङ्गाटिङ्गा रेखाहरू पनि सिधा हुँदै जानेछन्। आशा गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।