हुन त यस्ता कयौं रातको अनुभव लिएकी छु मैले। निद्राको अलिकति छिर्काहरु पनि आँखामा बस्न नपाउँदै बिहान सूर्यले लाली छर्न आइपुगेका छन्। लगभग १० हजार रातको अनुभव लिइसकेका यी आँखालाई ती रातमा निद्रामा डुब्न नपाउँदाको जस्तो पीडा अरु हजारौं रातको घेराभित्र छैन सायद। यी हजारौं रातमा म सुत्ने बिछ्यौनाले कहिले पनि घोचेन तर यी सात रात मन र दिमाग दुवैमा निकै बिझाए।
मनमा विश्वास नभए पनि विज्ञानलाई विश्वास मान्नैपर्ने। मेरो मनमा त ०.१ प्रतिशत पनि विश्वास थिएन, मलाई कोरोना (कोभिड-१९) छ भनेर। (कोभिड-१९) त के (कोभिड-१) पनि छैन भन्ने कुरामा म पूर्ण ढुक्क थिएँ।
बन्दाबन्दीले दुई महिना विश्राम दिएपछि धेरै काम थुप्रिँदै गएकोले जिल्ला प्रशासन कार्यलयको अनुमतिमा २०७७ वैशाख २९ गते म सुनसरीबाट काकासँगै बाइकमा काठमाडौं आएँ। १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नेगरी। जहाँ म काम गर्छु, त्यहाँ रोग प्रतिरक्षा प्रणाली कमजोर भएका करिब २०० जना बिरामी नियमित उपचारको लागि आउँछन्। उनीहरुको जीवन रक्षा गर्नु हाम्रो ठूलो दायित्व हो भन्ने बुझेर म आफैंले परीक्षण गर्नुपर्छद् भन्ने सोचें।
हुन त म घरबाट कतै निस्केकी थिइनँ, यो दुई महिनाको अवधिमा। तर तराईतिर कोरोनाको संक्रमण बढी रहेकाले एक पटक चेक गर्नु बुद्धिमानी हुन्छ भनेर चेकजाँच गराउने निधो गरें। करिब ३ बजे म साँगा आइपुगेको थिएँ, मैले काम गर्ने अफिसको एम्बुलन्स पनि भक्तपुर नै आएको रहेछ।
सुरक्षा चेक जाँचले गर्दा मेरो कोरोना परीक्षण गर्न नभ्याउने भएपछि भक्तपुरसम्म आइपुगेको एम्बुलेन्सलाई साँगा नै बोलाएँ र सिधै टेकु गएर स्याम्पल दिएँ। लक्षणको 'ल' पनि थिएन ममा। हाच्छिउँ पनि आएको थिएन। म ढुक्क थिएँ ममा कोरोना छैन भनेर। मेरो लागिभन्दा पनि उपचारको लागि आउने बिरामी र अरु स्टाफको सुरक्षाको लागि परीक्षण गरें। परीक्षण नमुना दिइसकेपछि काका बाइक लिएर जानुभयो। मलाई त्यहीँ एम्बुलेन्सले भक्तपुरमा चिनेको एक जना बहिनीकोमा पुर्याए। कोठामा पनि रिपोर्ट आएपछि मात्रै जाने सोच बनाएँ।
छैन भन्ने ढुक्क भए पनि नमुना परीक्षण गर्न दिइसकेपछि के होला? कसो होला? भनेर कौतुहल त भइरहने रहेछ। भोलिपल्ट राति करिब ९ बजे फोन आयो- तपाईंको रिपोर्ट पोजेटिभ छ। म एक्कासि छाँगाबाट खसे जस्तो भएँ। मलाई पत्यार त लागेको थिएन तर डर अति नै लागेको थियो। दु ई महिना घरमा ममीसँग सुतें। दम रोगी ममीको झलझली याद आउन थाल्यो। त्यो एक रात सँगै बसेकी बहिनीले त झन् जुठो खाएकी छिन्। बहिनीलाई पनि धेरै सम्झिएँ। भयानक डर उब्जायो। किनकी मैले कोरोनालाई ठूलो हाउगुजीको रुपमा लिएको रहेछु, बुझेको रहेछु। बुझेको रहेछु भन्दा पनि मलाई कोरोना भयानक राक्षस जस्तै हो भनेर बुझाइएको छ, मिडियाले पनि सरकारले पनि।
टेकुबाट एम्बुलेन्स आउन नसक्ने जानकारी भएपछि मैले आफूले काम गर्ने ठाउँको एम्बुलेन्स आउन अनुरोध गरें। डाक्टरको निर्देशन बमोजिम पूरै सावधानी अपनाएर फुल पिपिई लगाएर मलाई लिन एम्बुलेन्स भक्तपुरमा नै आयो। मलाई मास्क पनि ल्याइदिनुभएको रहेछ, त्यो लगाएँ। सरकारले निर्देशित गरेको मापदण्ड अपनाएर समाजिक दूरी कायम गरी म एम्बुलेन्समा बसें र टेकुतिर लागें।
टेकुमा जाँदै गर्दा सरकारले निर्देशन गरेको लकडाउनको नियम पालना गरी म दुई महिनासम्म घरमा बसिरहें। कोरोना सर्यो कहाँबाट? यही कुरा दिमागमा खेलिरह्यो। मलाई लागेको हैन भन्ने कुरामा म विश्वस्त छु र फेरि विज्ञानलाई मान्न पनि विवश छु। यदि कोराना भएको रहेछ भने पनि मैले काम गर्ने उक्त सेन्टरमा डायलाइसिस गर्ने करिब २०० जना बिरामीमा भाइरस सर्न त पाएन भनेर दु:ख छोप्ने खुसीको पर्दा पनि खोलेर मनको भावले हेरें। मलाई आइसोलेसनमा भर्ना गरियो।
न कोही भेट्न आउन मिल्ने न बहिर मुस्कुराइरहेको वसन्त ॠतुको अनुभव गर्न पाइने, पूरै जेल जस्तै लाग्न थाल्यो। सुविधा त थियो। वाइफाई थियो, सामाजिक सन्जाल हेर्दा, समाचार हेर्दा सुन्दा झन् अत्यास लाग्ने। सकरात्मक ऊर्जा दिने, उत्प्रेरणा दिने म्यासेज गर्ने ट्याग गर्नेहरु पनि थुप्रै आइरहेका थिए। तर नकारात्मक ऊर्जा दिने म्यासेज आउने र ट्याग गर्नेको पनि कमी थिएन। मलाई भित्ताहरुले थिचिरहेको थियो। बाहिर वसन्त मुस्कुराएर के गर्नु? भित्र डर फक्रिरहेको थियो।
यही बीचमा मैले यो दुई महिनामा भेटेको घर परिवार, छोड्न सँगै आउनुभएको काका, सिन्धुलीमा खाना खाएको ठूलोममीको घर। सबै जनाको रिपोर्ट नेगेटिभ आयो भन्ने खबर पाएँ। मलाई कोरोना छैन भनेर आत्मविश्वास १०० प्रतिशतबाट बढेर २०० प्रतिशत पुग्यो। तर डर भने यथावत नै छ।
मेरो पुन: जाँच भयो रिपोर्टको प्रतीक्षा गर्न पनि यति मुस्किल भयो कि नमुना लिएको ३ दिनपछि रिपोर्ट आयो नेगेटिभ। सायद मैले ठूलो युद्ध जिते जस्तो लाग्यो। मलाई वार्डमै नाचिदिउँ जस्तो लाग्यो। सायद सबैभन्दा खुसीको क्षण थियो यो।
मेरो आत्मविश्वासको जित भयो तर परीक्षण रिपोर्ट दिन ढिला गर्दा यस्तो गाह्रो हुने रहेछ। रिपोर्ट जेजस्तो भए पनि पोजेटिभ भए पनि नेगेटिभ भए पनि चाँडोभन्दा चाँडो उपलब्ध गराउने व्यवस्था भइदिए तनावको भारी अलि कम हुने थियो। यहाँको सेवासुविधा सबै राम्रो छ। डाक्टर तथा सिस्टरहरुले गर्ने व्यवहारमा पनि कुनै गुनासो छैन तर डर अझै पनि छ मनमा। नेगेटिभ रिपोर्ट आइसकेको मलाई यहाँ बसिरहँदा कतै सर्ने त हैन भनेर डर मनमा पैदा भइरहेको छ।
हमी जस्तोलाई तत्काल पुन: परीक्षण गरी यहाँबाट जति सक्दो चाडोँ निकाल्ने व्यवस्था गरिदिन पनि अनुरोध गर्दछु। साथै रिपोर्टको प्रतीक्षा धेरै गर्नुपर्ने र एक पटक पोजेटिभ देखिएपछि हो वा हैन पुन: परीक्षण तत्काल गरेर मात्रै आइसोलेसनमा राख्ने निर्णय लिन पनि सुझावको रुपमा दिन चाहन्छु।
मैले बुझेको कुनै पनि ल्याबको रिपोर्ट १०० प्रतिशत सही हुन सक्दैन। त्यसैले एक पटक पोजेटिभ देखिएको रिपोर्टलाई भर नगरी यथास्थानमा संक्रमितलाई राखी पुन:परीक्षण गरेर मात्रै निर्णय लिइयोस्। साथै मिडियाहरुले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य बुझेर मात्रै सम्प्रेषण गरिदिनु होला।
यो समयमा कुनै मिडियाले मलाई डाक्टर बनाए। कुनै मिडियाले नर्स बनाए, कुनै मिडियाले विवाहित माइती गएर आएको भन्ने समाचार प्रकाशित गरे। यस्ता समचारले समाजमा त्रास मात्रै पैदा गर्छ।यही समाचार सुनेको भरमा सत्यतथ्य नबुझी पुलिस प्रशासनले अस्पताल सिल गरिदिँदा अस्पतालमा उपचार गर्न आउने सबै बिरामीहरु उपचारमा बाधा भयो। बिरामीले डायलाइसिस गर्न पाएनन्। त्यसको लागि म माफी चाहान्छु।
हस्पिटल सिल गरेको कारण उक्त अस्पतालमा कारर्यरत सबै कर्मचारी अस्पताल भित्रै बन्दी भए। यसका लागि पनि म माफी चाहन्छु।
डेरा गरी बस्ने कर्मचारीहरुलाई कतिपय घरबेटीले गरेको व्यवहार सुनेर साह्रै दु:ख पनि लाग्यो। साथै सहयोग गर्ने घरबेटीको बारेमा पनि सुनें।
सबैलाई नआत्तिन र नडराउन अनुरोध गर्दछु। हामीले लिएको डरभन्दा यो भाइरस धेरै कमजोर छ। साथ र सहयोगका लागि सबैलाई हार्दिक आभार।
(उनी पुल्चोकस्थित निदान अस्पतालसँगै रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत छिन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।