धनगढी-कोरोना भाइरसको महामारीले मानिस घरभित्रै बन्दी भएको डेढ महिनाभन्दा बढी भएको छ। जंगलमा रम्दै आएका चराचुरुंगी भने सहर, सडक र जंगलतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन्। मानौं चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ।
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सडकमा यातायातका साधन गुडेका छैनन्। कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन्। हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन। मानिसको हुल छैन। प्रकृतिका अनुपम संगीतकार मानिएका चराहरुको चिरबिर अहिलेको लकडाउनमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ ।
चराविद् डा हेमसागर बराल भन्छन्, ‘यो गृष्मकालीन समयमा नेपालमा पाइने रैथाने प्रजातिका करिब ७०/८० प्रतिशत चराहरुले प्रजनन गर्ने समय हाे, केही प्रजातिका चराले बच्चासमेत कोरली सकेका छन् ।’ उनका अनुसार चराहरुका लागि चैत, वैशाख र जेठ महत्वपूर्ण समय मानिन्छ किनभने उनीहरुको फुल पार्ने, प्रजनन गर्ने र बच्चा कोरल्ने समय हो यो।
सहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडी ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरुमा अनेकौं प्रकारका चराहरुले बच्चा कोरलिरहेको डा बराल बताउँछन्। उनका अनुसार नेपालमा आठ सय ८६ प्रजातिका चरा पाइन्छन्।
चराविद तथा नेपाल पंक्षी सरक्षण सघंका कृष्ण भुसालले भने, ‘यो समयमा रैथाने तथा आगन्तुक चराहरुले नेपालका विभिन्न स्थानहरुमा स्वतन्त्रतापूर्वक आवतजावत, आहारबिहार गरेका छन् ।’ आगन्तुक चराहरुलाई लकडाउनले लाभ पुगेको उल्लेख गर्दै उनले भने, ‘मानवीय क्रियाकलापका कारण गुड बनाउन, प्रजनन गर्न, बच्चा कोरल्न असहज वातावरण हुने गथ्र्यो तर लकडाउनले चराचुरुंगीहरुलाई धेरै राहत पुगेको छ ।’
उनले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारका लागि विभिन्न प्रजातीका चराहरुका लागि अनुकूल बनेको बताए।
भुसालले भने, ‘यो समय कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत करीब ६२ प्रजातीका गृष्मकालीन आगन्तुक चराहरु दक्षिणी मुलुकहरु र अफ्रिकाबाट बच्चा कोरल्न नेपाल आईसकेका छन् जसको प्रजननका लागि यो लकडाउन अनुकूल बनेको छ ।’
मेची नगरका चरा संरक्षणकर्मी देवेन्द्र खरेलका अनुसार गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलंका र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन्। उनले भने, ‘ध्वनी प्रदूषण घटेपछि चराहरुले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन् ।’
उनका अनुसार लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन्। हुटिट्याउँ, सिम कुखुरा, बट्टाइ, जुरे कोइली, ठूलो जुरे कोइली, रंगीविरंगी काजले चरा, सानो मयुर, निलपुच्छे लगायतका दर्जनौं नया“ चराहरु यतिबेला झापाका घरगाउ“ छेउछाउका साना वनमा भेटिने गरेको उनी बताउँछन्।
विराटनगरका चराप्रेमी नवीन रेग्मीले नेपालमा लकडाउन भएपछि बगाले भ्याकुर, कोइली, कालोचिल, सिक्रा, हलेसी, कन्ठे ढुकुर, ठूलो गोकुल, मिल चरा, कुथुर्केजस्ता रैथाने तथा आगन्तुक चराहरु घर वरपर देखिने गरेको बताए।
बर्दियाका चरा संरक्षणकर्मी तथा पथप्रदर्शक रामबहादुर शाहीले लकडाउनले बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक चराहरु घरवरपर, सडक छेउछाउमा प्रसस्त रुपमा देखिने गरेको बताए। यी चराहरु अझै पनि मानव आश्रित रहेको उनी बताउछन्। शाहीका अनुसार भंगेरा, काग, ढुकुर, मैना, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनले भने, ‘उनीहरु मान्छेले दिएका वा फ्याँकेका खानामा मै बाँचेका हुन्छन् ।
तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेका छन् ।’
घोडाघोडी ताल क्षेत्र चराका लागि महत्वपूर्ण मानिन्छ। आजभोलि यहाँ पनि लकडाउनका कारण चोरी सिकारी तथा मानवीय क्रियाकलाप कमी आएको छ। चरा संरक्षणकर्मी मनिषा चौधरीले भनिन्, ‘ताल क्षेत्रका चराहरु घर वरपर आउने, भीडभाडमा नडराउने बानी परिसकेकाले मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे। यस्ता आश्रित चरा लकडाउनमा भोकले व्याकुल भएका छन्।’
तस्बिर : हिरु डंगौराको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।