काठमाडौं- हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले नाफा बढाएको हो। गत आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकले दुई अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
तर लाभांश बाँड्न योग्य नाफा भने ३७ प्रतिशतले घटेको छ। कोभिड १९ ले प्रभावित कर्जालाई प्रोभिजनिङ गर्नु परेकोले बैंकको लाभांश बाँड्न योग्य नाफा ८२ करोड ८७ लाख रुपैयाँ मात्रै छ।
बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले मात्रै सुधार भएको छ। तेस्रो त्रैमासिक अवधिको ब्याज उठाउन नसक्दा बैंकको ब्याज आम्दानीमा खासै सुधार देखिएन। यसै अवधिमा तीन अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ।
चैत मसान्तसम्ममा बैंकले एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। असारयता बैंकले निक्षेप ६.३४ प्रतिशतले बढाएको छ भने कर्जा लगानी १४.१६ प्रतिशतले बिस्तार गर्न सफल भएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले पुँजीकोष अनुपात केही बढेको छ। पुँजीकोष अनुपात १३.४२ प्रतिशत छ। खराब कर्जा ०.२० प्रतिशत विन्दुले घटाएर १.११ प्रतिशतमा झारेको हो। प्रतिशेयर आम्दानी एक रुपैयाँले बढेर ३२ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।