काठमाडौं- ‘अध्यादेश प्रकरण’पछि रक्षात्मक बनेका प्रधामन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका नेताहरुसँगको छलफललाई सघन बनाएका छन्।
ओलीले विशेषगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई छाडेर पूर्ववर्ती एमालेपक्षका नेताहरुलाई फकाउने प्रत्यत्नमा लागेका छन्। पूर्ववर्ती एमालेको माधव नेपाल समूह प्रचण्डसँग मिलेपछि ओली पार्टी र संसदीय दल दुवैमा अल्पमतमा छन्। अध्यादेश प्रकरणमा असफलता झेलेपछि कतै सरकारबाटै बाहिरिनुपर्ने त होइन भन्ने भयमा रहेका ओलीले सोमबार नेपाल पक्षसँग चरणबद्ध वार्ता गरेका छन्।
ओलीले सबैभन्दा पहिले नेता नेपाललाई बालुवाटारमै बोलाएर छलफल गरे। बालुवाटारमा भएको ओली-नेपाल ‘वन टु वन’ वार्तापछि कोटेश्वरमा दुवै खेमाका नेतासहितको बैठक बस्यो। ओलीनिकट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता नेपाल निवासमा करीब ४ घण्टा बैठकमा बसे।
नेपाल लाइभलाई स्रोतले बताएअनुसार यी दुवै बैठकमा ओलीले नेपाल पक्षलाई फकाउने गरी कुरा राखेका छन्। यसअघि सधैं चर्का कुरा गर्ने ओली खेमा आफू रक्षात्मक भएपछि पार्टीभित्र ‘पावर सेयर’ गर्न पनि तयार रहेको सन्देश नेपाल पक्षलाई दिएको छ।
त्यसको सार हो- प्रधानमन्त्रीको पद जोगाउन बरु पार्टी अध्यक्ष पद त्याग्नु परे पनि त्याग्ने तर प्रचण्डलाई एकल अध्यक्ष हुन नदिने। स्रोतका अनुसार ओलीले नेपाललाई पनि अध्यक्ष बनाएर पार्टीमा तीन अध्यक्ष भएको पद्धतिमा जाने पहिलो विकल्प र त्यसो हुन नसकेको खण्डमा आफ्नो अध्यक्ष पद नेता नेपाललाई छाड्ने हदसम्म जानसकिने संकेत गरेका छन्। तर, त्यसो गर्दा प्रधानमन्त्रीका रुपमा आफूलाई सहज रुपमा काम गर्ने वातावरण मिलाउन नेपालले सहयोग गर्नुपर्ने शर्त ओलीको छ।
स्थायी कमिटीबाट अनुमोदन
ती दुई विकल्प आसपासमा लगभग सहमती भइसकेपछि पूर्ववर्ती एमाले समूहले स्थायी कमिटी बैठकबाट त्यसलाई अुनमोदन गराउने तयारी गरिरहेको छ। यसअघि स्थायी कमिटी बैठक बोलाउन तयार नरहेको ओली पक्ष पनि यसमा तयार भएको छ।
जसअनुसार मंगलबार सचिवालय बैठक बोलाउने र त्यसले स्थायी कमिटी बैठकको मिति तय गर्नेछ। ‘पावर सेयरिङ’को कुरालाई ‘स्किप’ गर्दै नेता रघुजी पन्तले बैठकबारे सार्वजनिक रुपमै बताए। ‘पावर सेयरिङबारे केही छलफल भएको होइन,’ नेपाल निवासको बैठकपछि पन्तले भने, ‘पछिल्लो घटनाक्रमका विषयमा छलफल भयो। अब अविलम्ब स्थायी कमिटी बैठक बोलाउने र सबै विषय स्थायी कमिटीमा छलफल हुन्छ। भोलिको सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्नेछ। आज एक आपसमा खुलेर कुरा भयो। पार्टीको विवाद बिस्तारै मत्थर हुँदै जान्छ।’
पूर्व एमाले पक्षबीच त्यस्तो सहमतिपछि नेपाल लाइभले पूर्व माओवादी खेमाका नेताहरुसँग सम्वाद गर्यो। प्रचण्डका अति निकटसहितका ४ स्थायी कमिटी सदस्यहरुसँग ‘पावर सेयरिङ’को विषयमा ओली-नेपाल खेमामा भएको छलफलबारे कुराकानी भयो।
तीमध्ये प्रचण्ड खेमाका दुई स्थायी कमिटी सदस्यले पावर सेयरिङबारे उताको छलफललाई पुष्टि गरे। र, उनीहरुले त्यसले पार्ने प्रभावबारे पनि बताए। उनीहरुको मत पावर सेयरिङ आवश्यक भएको तर त्यो कस्तो हुने भन्ने विषय आफूहरुको सहमतिबिना नटुंगिने बताए।
‘कुनै टुंगो छैन, तर विभिन्न विकल्पमा छलफल भएको छ,’ एक सदस्यले भने, ‘कसरी जाने, के गर्ने भन्ने कुरामा त्यहाँ विभिन्न विकल्पमा छलफल भएको छ। माधव कमरेडलाई अध्यक्ष दिन्छु भन्ने कुराकानी पनि चलेको छ। माधव कमरेडले जिम्मेवारी लिने कुरा पनि सल्लाह गरेर नै लिनुहुन्छ। उहाँले पनि त्यतिकै लिनुहुन्न, त्रिपक्षीय सल्लाह भएरमात्रै त्यो टुंगो लाग्छ।’
अर्का सदस्य चाहिँ त्यस्तो विकल्पमा छलफल भए पनि आफूहरु (प्रचण्ड र नेपाल)बीच भएको बुझाइमा अन्तर नआउने बताउँछन्। ‘त्यो कुरा भइरहेको छ,’ उनी भन्छन्, ‘यसले केही फरक पार्दैन। (ठट्टा गर्दै... सबै हाम्रै पार्टीका नेता हुन्। अब पूर्व एमाले, पूर्व माओवादी भन्दा पनि नेकपाकै नेता त हुन्।’
पावर सेयरिङ प्रस्तावबारे त्यति जानकार नभएका दुई स्थायी कमिटी सदस्यले चाहिँ यदि त्यस्तो कुरा छलफलमा आएको हो भने आफूहरुबीच यो विषयमा गम्भीर छलफल हुने बताए। ‘यदि त्यसो हो भने यो विषयमा हामीहरुबीच अब गम्भीर छलफल हुन्छ,’ उनीहरुको भनाइको सार थियो, ‘यसलाई गम्भीर रुपमा लिएर प्रचण्डले अब छिटै छलफलमा बोलाउनु होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।