धनगढी- सुदूरपश्चिमका विभिन्न जिल्लामा दुई हजार बढी नेपालीहरु एक महिनादेखि सीमा क्षेत्रमा अलपत्र छन्। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा दुई हजार ३८ बढी नेपालीहरु अलपत्र रहेको जनाइएको छ। नौवटा जिल्ला रहेको प्रदेशमा पाँचवटा जिल्ला भारतसँग सीमा जोडिएका छन्।
दार्चुला जिल्लाका चारवटा स्थानमा ८ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले सीमा क्षेत्रको बालुवाकोट, धार्चुलालगायतका चार स्थानमा ८ सय ३० नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए। उनले त्यहाँ भएका सबै नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
उनले भने, ‘सोमबार सीमा रहेका नेपाली र भारतीयहरुलाई आ–आफनो जिल्ला पठाउने तयारी भएको थियो। तर, दुई देशबीचको सहमतिले गर्दा अझै अन्यौल भएको छ।' उनले भारतीय र नेपाली पक्षबीच सीमा पारी क्वारेन्टाइनमा राखिएका सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने समझदारी अनुसार उनीहरुलाई थप एक हप्ता उतै राखिने भएको बताए।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दुवै पक्षबीच उक्त समझदारी भएको भन्दै तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अनुमति नदिएको जनाइएको छ। उनले भने, ‘सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका मानिस लैजान आवश्यक बस पठाएका थिए। तर, भित्र्याउने अनुमति नपाएपछि सीमा पारीका नेपालीहरु त्यतै छन्।’
बैतडी क्षेत्र अन्तर्गत पर्ने भारतीय सीमाका विभिन्न १५ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको जनाइएको छ। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतले विभिन्न १५ स्थानमा क्वारेन्टाइन स्थापना गरेको बताए। उनले भने, ‘ती क्वारेन्टाइनमा बैतडीका मात्र ८ सय ३७ जनालाई राखिएको छ।’ उनले क्वारेन्टाइन बाहेक पनि अन्य स्थानमा नेपालीहरु रहेको बताए। उनले भने, ‘क्वारेन्टाइन क्षेत्रभन्दा बाहिर भारतमै भाडामा बसीरहेका नेपालीहरु पनि रहेका छन तर, उनीहरुको तथ्यांक आएको छैन।’
डडेल्धुरा पनि भारतीय सीमा क्षेत्रसँग जोडिए पनि उक्त स्थानमा कुनै पनि नाका नभएका कारण दुवै देशको कुनै पोष्ट नरहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। उनले भने, ‘यस जिल्लाका मानिस धार्चुला, वनवासा, लखिमपुर लगायतमा अलपत्र छन्।’ उनले भारतसँग जोडिएको डडेल्धुराका कुनै पनि सीमामा नेपालीहरु नरहेको बताए।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार टनकपुर, खटीमा, बनबासालगायतका विभिन्न भारतीय सीमा क्षेत्रमा २ सय ५१ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ। कार्यालयले ती सबै नेपालीहरुको अवस्था सामान्य रहेको जनाएको छ।
कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको लखिमपुर खिरिमा १ सय २० नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
यथाशिघ्र प्रवेश गराउन आग्रह
सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिले सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन सरकारसँग आग्रह गरेकाे छ।
‘भैरहवालगायतका नाकाहरुबाट नेपालीलाई प्रवेश गर्न दिएपनि एक महिना अघिदेखि सीमामा रहेका सुदूरपश्चिमेलीहरुलाई नेपाल प्रवेश गर्न नदिनु दुःखद् हो,’ सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायरले भने, ‘नेपाल सरकारले तत्काल धार्चुला, झुलाघाट, बनवासा, पलियालगायतका भारतीय भूभागमा एक महिनादेखि कष्टपूर्ण जिन्दगी बिताइरहेका नेपालीहरुललाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्छ।’
उनीहरुको स्वास्थ्य परीक्षण गरी नेपाली भूमिमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि बलायरले सरकारसँग आग्रह गरे। उनले भारत, मलेशिया, खाडी मुलुकहरुलगायत प्रवासमा रहेका नेपालीहरुको राहत तथा उद्धारका लागि पहल गर्न समेत आग्रह गरे।
यसैगरी सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट, सुदूरपश्चिमेली समाज भारतका कावा अध्यक्ष कटकबहादुर बिष्ट र महासचिव मोहन बीर साउँदले सीमामा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन आग्रह गरेका छन्। उनीहरुले भारतको मुम्बई, पुना, बैंग्लोर, दिल्लीलगायतका सहरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई राहत तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।
भारतको विभिन्न सहरबाट आएका झण्डै २ हजार सुदूरपश्चिमेली एक महिनादेखि सीमावर्ती भारतीय भूभागको क्वारेन्टाइनमा कष्टपूर्ण जीवन बिताइरहेका छन्। उनीहरुले सरकारसँग नेपाल प्रवेश गर्न दिन आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।