सन् २०१९ को अन्तिम साता चीनको वुहान प्रान्तमा छातीमा संक्रमण भएका बिरामीको सङ्ख्या अचानक बढ्न थाल्यो। त्यसको एक साता पनि बित्न नपाउँदै त्यो संक्रमण नयाँ कोरोना भाइरस (सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस अथवा सार्स-कोभ-२) ले भएको तथ्य फेला पर्यो। सामान्य बोलीचालीको भाषामा उक्त भाइरसलाई कोरोना भाइरस र यसले निम्त्याएको छातीको समस्यालाई कोरोना भाइरस डिजिज (कोभिड–१९) नामबाट पनि बुझ्ने गरिन्छ। इबोला, रेबिज, र रुघाखोकी निम्त्याउने इन्फ्लुएन्जा जस्तै (सार्स-कोभ-२) एउटा आरएनए भाइरस हो।
सुरुवातमा यो भाइरस एक मानिसबाट अर्को मानिसमा सर्ला र यति छिटै विश्वभर फैलेला भन्नेबारेमा कसैलाई पनि अनुमान थिएन। यो लेख तयार पार्दा (२६ अप्रिल २०२०) सम्म नोबल कोरोना भाइरसले विश्वका २१० भन्दा बढी देश तथा क्षेत्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार यो भाइरसको संक्रमण हालसम्म करिब २९ लाखभन्दा बढीमा देखिसकेको छ भने २ लाख ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
यस लेखमार्फत् विगत तीन महिनादेखि अनपेक्षित रूपमा फैलँदै गएको यो भाइरसको सञ्जालबारे प्रस्तुत गर्न खोजिएको छ। साथै विभिन्न आधिकारिक संस्थाहरूको रिपोर्टलाई आधार मानेर यो अवधिभर विश्वमा घटेका महत्वपूर्ण घटनाहरूलाई श्रृङ्खलाबद्ध रूपमा अभिलेख गर्न खोजिएको छ।
कोरोना भाइरससम्बन्धि केही भ्रम र तथ्यहरु केलाउनुभन्दा पहिलो संक्षिप्त रूपमा यसको समयरेखा हेरौं।

डिसेम्बर (पौष)
डिसेम्बर ३१ : चीनको वुहान नगर स्वास्थ्य समितिले २७ वटा कारण पत्ता नलागेको निमोनियाका केस डब्लुएचओमा खबर गर्यो।
जनवरी (पौष–माघ)
जनवरी १ : सरुवा रोग फैलिएको आशङ्कामा चीनको वुहान प्रान्तस्थित हुनान सिफुड होलसेल मार्केट बन्द गरियो।
जनवरी ५ : डब्लुएचओ द्वारा पहिलो पटक चीनको वुहानमा नयाँ रोग फैलिएको समाचार सार्वजनिक गरियो।
जनवरी ७ : चिनियाँ पदाधिकारीहरूद्वारा नयाँ भाइरस पत्ता लागेको घोषणा गरियो। उक्त भाइरसलाई नोबल कोरोना भाइरस नाम दिइयो।
जनवरी १० : डब्लुएचओद्वारा जेनेभास्थित आफ्नो केन्द्रीय कार्यालय तथा हरेक देशका आफ्ना पदाधिकारीहरूमार्फत् नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको परीक्षण तथा व्यवस्थापनका बारेमा प्राविधिक मार्गदर्शन सार्वजनिक गरियो।
जनवरी ११ : चीनमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको निधन भयो।
जनवरी १२ : चीनले कोरोना भाइरसको आनुवांशिक अनुक्रम सार्वजनिक गर्यो।
जनवरी १३ : थाइल्यान्डमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटियो। कोरोना रोग चीनबाहिर देखिएको यो नै पहिलो घटना थियो।
जनवरी २० : डब्लुएचओ को विशेषज्ञ टोलीले वुहान प्रान्तको स्थलगत अवलोकन गर्यो।
जनवरी २४ : नेपालमा पहिलो नोबल कोरोना भाइरस सङ्क्रमित व्यक्ति भेटिएको थियो। एकतीस वर्षीय ती युवा चीनको वुहानबाट बिदामा नेपाल फर्किएका थिए।
जनवरी ३० : डब्लुएचओले नोबल कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी आपत्काल घोषणा गर्यो। यस अघि सार्स, बिफर, स्वाइन फ्लू, पोलियो, जिका र इबोला भाइरसको संक्रमणलाई पनि विश्वव्यापी आपत्काल घोषणा गरिएको थियो।
फेब्रुअरी (माघ–फाल्गुन)
फेब्रुअरी २ : फिलिपिन्समा नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको मृत्यु भयो। कोरोनाका कारण चीनभन्दा बाहिर भएको यो पहिलो मृत्यु थियो।
फेब्रुअरी ११ : डब्लुएचओले केन्द्रीय कार्यालयमा कोभिड–१९ अनुसन्धान तथा आविष्कार भेलाको आयोजना गर्यो। उक्त भेलामा विश्वभरिका ४ सयभन्दा बढी विशेषज्ञहरूका साथै दाताहरूको संलग्नता थियो।
इन्टरनेशनल कमिटी अन टेक्सोनोमी अफ भाइरस (आइसिटिभी) द्वारा नयाँ भाइरसको नाम सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस-२ (सार्स-कोभ-२) घोषणा गरियो। डब्लुएचओद्वारा (सार्स-कोभ-२) कारण भएको निमोनियालाई कोभिड–१९ नामाकरण गरियो।
फेब्रुअरी १४ : इजिप्टमा पनि नोबल कोरोना भाइरसको पहिलो संक्रमण देखियो। अफ्रिकामा देखिएको यो पहिलो संक्रमण थियो। सोही दिन फ्रान्समा पनि यो भाइरसको संक्रमणबाट पहिलो बिरामीको मृत्यु भयो। युरोपका लागि यो पहिलो घटना थियो।
मार्च (फाल्गुन–चैत्र)
मार्च १ : नेपाल सरकारद्वारा नेपाल भ्रमण वर्ष प्रवर्द्धनका सामग्रीको प्रचारप्रसारमा रोक लगाउने निर्णय गर्यो। यसैगरी चीन, दक्षिण कोरिया, जापान, इटाली, र इरानबाट आउने सबै पर्यटकको भिसा अन अराइभल सुविधा खारेज गर्ने निर्णय गरियो।
मार्च ११ : डब्लुएचओद्वारा नोबल कोरोना भाइरसलाई महामारीको रूपमा घोषणा गर्यो।
मार्च १३ : नेपाल सरकारद्वारा विदेशबाट नेपाल भ्रमणमा आउने सबै पर्यटकको भिसा अन अराइभल सुविधा खारेज गर्ने निर्णय गर्यो। यसै दिन अमेरिकामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सङ्कटको घोषणा भयो।
मार्च १९ : नोबल कोरोना भाइरसको महामारी सुरु भएदेखि पहिलोपटक चीनमा नयाँ संक्रमण भेटिएन।
मार्च २३ : नेपालमा दोस्रो कोभिड-१९ को केस देखिएको। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा नेपालमा दोस्रो केस पुष्टि भयो।
मार्च २४ : नोबल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारद्वारा देशभर लकडाउनको घोषणा गरियो।

सोही दिन जापानको टोकियोमा हुने भनिएको समर ओलम्पिक अर्को वर्षसम्मका लागि स्थगित गरियो।
मार्च २५ : नेपालमा तेस्रो कोभिड-१९ को बिरामी देखिएको। ती बिरामी संयुक्त अरब इमिरेट्सबाट नेपाल फर्केका थिए।
मार्च २७ : नेपालमा चौथो कोभिड–१९ को बिरामी देखिएको। चौतीस वर्षीय ती बिरामी मध्यपूर्वबाट नेपाल फर्केका थिए। त्यही दिनमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई नोबल कोरोना भाइरसबाट संक्रमण भएको सार्वजनिक गरे।
मार्च २८ : नेपालमा पाचौं कोभिड–१९ को बिरामी देखियो। सङ्क्रमित उन्नाइस वर्षीया ती किशोरी बेल्जियमबाट कतार हुँदै नेपाल फर्केकी थिइन्।
मार्च २९ : नेपाल सरकारद्वारा देशैभर गरिएको लकडाउन अप्रिल ८ सम्म बढाइयो। अन्तर्राष्ट्रिय उडान अप्रिल १५ सम्म रोक लगाइयो।
मार्च ३० : जापानको टोकियोमा हुने भनिएको समर ओलम्पिक सन् २०२१ मा गर्ने घोषणा गरियो।
अप्रिल (चैत्र-बैशाख)
अप्रिल १ : अमेरिकाको कनेक्टिकटमा नोबल कोरोना भाइरसबाट ६ हप्ताको बच्चाको निधन भयो। कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये यो सबैभन्दा कम उमेरको घटना थियो।
चीन सरकारले नोबल कोरोनाबाट हुन सक्ने थप महामारी रोक्न हेनान प्रान्तका सबै गाउँमा लकडाउन गर्ने घोषणा गर्यो।
अप्रिल २ : नेपालमा छैठौं कोभिड–१९ को बिरामी देखियो। सङ्क्रमित ६५ वर्षकी बाग्लुङकी ती महिला कतार एयरलाइन्स हुँदै नेपाल फर्केकी थिइन्।
विश्वभरि नोबल कोरोना भाइरसबाट १० लाखभन्दा बढी बिरामी संक्रमण भइसकेको जानकारी सार्वजनिक भयो।
अप्रिल ३ : अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)द्वारा सर्वसाधारणमा कपडाको मास्क प्रयोग गरी यस भाइरसको फैलावट तथा रोकथाममा सहयोग गर्न अपिल गरियो।
अप्रिल ४ : नेपालभित्र नोबल कोरोना भाइरस एक व्यक्तिबाट अर्का व्यक्तिमा सरेको पुष्टि भयो। उक्त केस ३४ वर्षकी कैलाली निवासी महिलामा देखिएको थियो। यसका साथै भारतबाट फर्केका थप दुई जनामा नोबल कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
अप्रिल ५ : इटालीमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई थप कोरोना परीक्षणका लागि अस्पताल लगिएको।
अप्रिल ६ : नोबल कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १० हजार पुग्यो। यसैगरी इटालीमा एकै दिनमा ६३७ जना संक्रमित बिरामीको निधन भएको सार्वजनिक भयो। इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय २३ पुग्यो। यो महामारी सुरु भएदेखि चीनमा नयाँ संक्रमितको संख्या शून्य भएको दिन पनि यही थियो।
अप्रिल ७ : बेलायतमा एकैदिनमा ७ यस ८६ नोबल कोरोना भाइरस सङ्क्रमित बिरामीको मृत्यु भएको।यसैगरि अमेरिकामा पनि एकैदिनमा १२०० सङ्क्रमित बिरामीको मृत्यु। मृत्यु हुनेमा ८ यस ६ जना न्यूयोर्कका मात्रै थिए। फ्रान्समा पनि एकै दिनमा १ हजार ४ सय १७ जना सङ्क्रमित बिरामीको मृत्यु भयो।
अप्रिल १० : विश्वभरिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो।
अप्रिल ११ : नेपालमा कोभिड–१९ को थप तीन बिरामी भेटिएको। वीरगञ्जमा बस्दै आएका उनीहरू भारतीय नागरिक थिए।
अप्रिल १३ : नेपालमा कोभिड–१९ को थप दुई बिरामी भेटिएको। कैलाली निवासी ६५ वर्षीया महिला र रौतहट निवासी १९ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।
अप्रिल १४ : नेपालमा कोभिड–१९ को थप दुई बिरामीहरू भेटियो। काठमाडौँ पेप्सिकोलास्थित सनसिटी अर्पाटमेन्टमा बस्ने ५८ वर्षीय पुरुष अनि ८१ वर्षीया महिलामा संक्रमण देखिएको थियो। उक्त परिवार बेलायतबाट हालसालै नेपाल फर्किएका थिए। नेपाल सरकारद्वारा लकडाउनलाई अप्रिल २७ सम्म लम्बाइएको घोषणा गरियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्लुएचओलाई दिने आर्थिक सहयोग रोक्का गर्ने घोषणा गरिएको।

अप्रिल १७ : नेपालमा कोभिड-१९ को १४ वटा नयाँ बिरामीहरू थपिए। ती मध्ये उदयपुर एकान्तबासमा (क्वारेन्टिन) बस्दै आएका १२ जना (११ जना भारतीय र १ जना नेपाली नागरिक) र चितवनमा बेलायतबाट फर्केका २ जना थिए।
अप्रिल १८ : २३ मार्चदेखि उपचाररत, नेपालको दोस्रो र छैठौँ कोरोना सङ्क्रमित बिरामीको सफल उपचारपछि अस्पतालबाट घर फिर्तागरिएको। नेपालमा एउटा थप नयाँ कोभिड–१९ को बिरामी थपिएको। उनी ६५ वर्षीय भारतीय नागरिक भएको जानकारी प्राप्त भएको।
अप्रिल १९ : ४ अप्रिलदेखि सेती प्रदेशिक अस्पतालमा उपचाररत २१ वर्षीय युवकको कोरोना संक्रमण को सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरिएको। चिले राष्ट्रले कोभिड–१९ को उपचारपछि निको भएका बिरामीलाई इम्युनिटी कार्ड प्रदान गर्ने निर्णय गरेको। उक्त कार्डहोल्डरलाई उपचारपछि आफ्नो नियमित काममा फर्कन सहज हुने बनाइएको।
अप्रिल २१ : नेपालमा कोभिड–१९ को थप ११ केस थपिएको। उक्त बिरामीहरू उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रमा भेटिएका थिए। सेती प्रदेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको कोरोना संक्रमणको सफल उपचारपछि अस्पतालबाट फिर्ता गरिएको।
अप्रिल २२ : नेपालमा कोभिड–१९ को थप ३ केस थपिएको। उक्त बिरामीहरू उदयपुरमा भेटिएका थिए। त्यस्तै दुईजनाको कोरोना संक्रमणको सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरिएको।
अप्रिल २३ : नेपालमा कोभिड–१९ को थप ३ केस थपिए। उदयपुरकी ५५ वर्षीया महिला र १४ वर्षीय पुरुषमा उक्त सङ्क्रमण देखिएको हो। त्यस्तै दुईजनाको कोरोना सङ्क्रमण को सफल उपचारपछि अस्पतालबाट घर फिर्ता गरिएको।
अप्रिल २४ : नेपालमा कोभिड–१९ को थप १ केस थपिएको।
अप्रिल २५ : नेपाल सरकारद्वारा वैदेशिक उडानहरूलाई मे १५ सम्म रोक लगाइयो।

अप्रिल २६ : नेपालमा कोभिड–१९ को थप ३ केस थपिए। ५० वर्षीय दुई पुरुषमा उक्त सङ्क्रमण देखिएसगैँ उनीहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार थालियो। नेपाल सरकारद्वारा देशैभरि गरेको लकडाउन मे ७ (बैसाख २५) सम्म बढाइयो।
सबै गरेर नेपालमा नोबल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ। योसँगै सफल उपचारपछि अस्पतालबाट फर्कनेको सङ्ख्या १६ पुगेको छ भने देशका विभिन्न अस्पतालमा ३६ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ।
नोबल कोरोना भाइरस बारेका केही रोचक तथ्यहरू
१. नोबल कोरोना भाइरसको नाम आफ्नै कोषको बनावटबाट आएको हो। ल्याटिन भाषामा कोरोना को अर्थ क्राउन हुन्छ। शक्तिशाली माइक्रोस्कोपबाट हेर्दा भाइरसको कोष गोलो आकृतिको हुन्छ। त्यसको वरिपरि भाइरसका प्रोटिनहरू काँडाजस्तै गरी निस्केका हुनाले यसको नाम कोरोना राखिएको हो।
२. नोबल कोरोना भाइरस एक सूक्ष्म भाइरस हो। यसको आकार १५० देखि १६० नानोमिटर हुन्छ। यो नाप कपालको रौँको व्यासभन्दा करिब हजार गुणा सानो हो।
३. प्रायजसो कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीलाई आक्रमण गर्दछन्। त्यसैले धेरैजसो मानिसमा लाग्ने कोरोना भाइरसका संक्रमण जनावरसँगको सम्पर्कबाट हुने गरेको पाइन्छ। उदाहरणका लागि, कोरोना भाइरस परिवारभित्रै पर्ने मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (मर्स) ऊँटबाट मानिसमा सरेको थियो भने सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस (सार्स) बिरालोबाट मानिसमा सरेको थियो।त्यसैगरी अहिले कोलाहल मच्चाइरहेको सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस-२ (सार्स-कोभ-२) चमेरो तथा सालक (लामो मुख भएको कमिला खाने जनावर) बाट मानिसमा सरेको अनुमान गरिएको छ।
४. कोरोना भाइरसले मानिसमा संक्रमण गर्न सक्छन् भन्ने कुरा सर्वप्रथम १९६० को दशकमा पत्ता लागेको थियो।
५. मानिसलाई संक्रमण गर्ने कोरोना भाइरस परिवारमा ७ वटा सदस्य (स्पेसिस)हरू छन्, जसमध्ये ४ स्पेसिसले सामान्य रुघाखोकीका लक्षणहरू देखाउँछन् भने २ स्पेसिस (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–१) ले जटिल समस्या निम्त्याउँछन्। हालसालै पत्ता लागेको सातौँ सदस्य सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ प्रजातिले पनि जटिल समस्या निम्त्याउने देखिएको छ।
६. कोभिड-१९ मा ‘को’ भन्नाले कोरोना, ‘भि’ले भाइरस, ‘ड’ले डिजिज अनि १९ को अर्थ सन् २०१९ (समस्या पत्ता लागेको वर्ष) हुन्छ।

७. हालसालै अमेरिकामा गरिएको अनुसन्धानबाट कोरोना भाइरस २४ घण्टासम्म कार्डबोर्ड र ७२ घण्टासम्म प्लास्टिक तथा स्टिलको सतहमा संक्रमण गर्न सक्ने अवस्थामा रहने पत्ता लगाइएको छ।
८. प्रायजसो भाइरसहरू तातोमा भन्दा चिसोमा लामो समय बाँच्ने गर्दछन्। अहिलेसम्म ठ्याक्कै नोबल कोरोना भाइरस र मौसमको सम्बन्ध प्रमाणित भइनसकेको भएपनि, भाइरसको बाहिरी तहको बनावटलाई हेर्दा कम तापक्रममा यो भाइरस छिटो फैलिने अनुमान गरिएको छ।
९.सङ्क्रमित व्यक्तिले खोक्दा तथा हाच्छ्युँ गर्दा निस्कने छिटा हुँदै यो भाइरस स्वासप्रस्वास प्रणालीका अङ्ग जस्तै नाक र मुखका सतही कोष हुदै स्वस्थ मानिसको शरीरमा प्रवेश गर्दछन्।सुरुमा भाइरसले स्वासप्रस्वास प्रणालीको माथिल्लो भाग जस्तै कण्ठमा संक्रमण गर्दछ। त्यसैले हामीलाई रोगको प्रारम्भिक अवस्थामा नाक तथा घाँटी चिलाउने, सिँगान बग्ने अनि खोकी लाग्नेजस्ता समस्या देखिन थाल्दछन्। त्यसपछि भाइरस स्वासप्रस्वास प्रणालीको तल्लो भाग जस्तै फोक्सोभित्र प्रवेश गर्दछ। फलस्वरूप हाम्रो फोक्सो सुन्निन गई निमोनिया लाग्दछ।
१०. अमेरिकास्थित कोल्ड स्प्रिङ हार्वर ल्याबमा गरिएको अनुसन्धानमा चुरोट सेवन गर्ने बिरामीमा नोबल कोरोना भाइरसलाई स्वासप्रस्वास प्रणालीका कोषहरूसँग जोडिन चाहिने प्रोटिनहरू बढी मात्रामा बन्न सक्ने पाइएको छ। फलस्वरूप बढी चुरोट सेवन गर्ने बिरामीलाई यो भाइरसले आक्रान्त पार्ने देखिएको छ।
११. सङ्क्रमित व्यक्तिले एकपटक खोक्दा तथा हाच्छ्युँ गर्दा करिब ३ हजार जति भाइरस बोकेका छिटाहरू बाहिर निस्किन्छन्।
१२. हालसालै चीनको ग्वाङ्झाउस्थित एक अस्पतालमा गरिएको अनुसन्धान अनुसार, नोबल कोरोना भाइरस दिसामा पनि लामो समयसम्म सङ्क्रमित अवस्थामा रहन सक्ने पाइएको छ। यसैगरि साङ्घाईस्थित जीओ टोङ विश्वविद्यालयको अनुसन्धानले यो भाइरस पाचन प्रणालीका कोषहरूबाट अरु निरोगी मानिसमा पनि सर्नसक्ने प्रक्षेपण गरेको छ।
१३. शरीरमा प्रवेश गरेपछि भाइरस संक्रमणको पहिलो संकेत देखिन कम्तिमा २–१४ दिनसम्म लाग्न सक्छ।यसो भन्दै गर्दा चीनको हुबेई प्रान्तका एक बिरामीमा २७ दिनपछि मात्रै संक्रमण भएको भेटिएको थियो। त्यसैले रोगको पहिलो सङ्केत देखिने समय बिरामीको रोगसँग लड्ने क्षमतामा र्निभर हुन्छ।
१४. अप्रिल १५ मा चीनको राष्ट्रिय स्वास्थ्य परिषदले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार चीनमा ६७६४ वटा लक्षण नदेखिने कोरोना पोजेटिभ केसहरू भेटिएको जनाएको थियो। यस्ता बिरामीहरूले आफूलाई कोरोना संक्रमण भएको थाहा नपाउने हुनाले उनीहरूबाट अन्य स्वस्थ मानिसहरूमा पनि सरेको हुनसक्ने अनुमान गरिएको छ। तथापि विस्तृत अनुसन्धान हुन बाँकी नै छ।
१५. भाइरसको वंशाणु परिवर्तन छोटो समयमा हुन्छ। उदाहरणका लागि रुघाखोकी लाग्ने इन्फ्लुएन्जा भाइरस हरेक वर्ष फरक प्रजाति बनेर आउछ।त्यसैले गर्दा रुघाखोकीको अहिलेसम्म खोप या औषधी बन्न सकेको छैन। यसैगरी नोबल कोरोना भाइरसले पनि समयसँगै आफ्नो वंशाणुगत बनावटलाई परिवर्तन गरेको पाइएको छ।गत जनवरीमा पहिलो वंशाणुगत कोडको सिक्वेन्स सार्वजनिक भएलगत्तै अहिलेसम्म करिब ३ हजार बिरामीबाट पत्ता लगाइएको भाइरसको वंशाणुगत सिक्वेन्सहरू सार्वजनिक भएका छन्। सिक्वेन्सहरूको अध्ययनबाट नोबल कोरोना भाइरसका धेरै प्रजातिहरू पत्ता लागेका छन्।जस्तै अमेरिका तथा अस्ट्रेलियामा फैलिएको भाइरसको प्रकार ए, चीनमा बि अनि युरोपमा सि रहेको पाइएको छ।
ध्यान दिनुपर्ने कुराहरू
- नियमित रूपमा साबुन पानीले कम्तीमा पनि २० सेकेन्ड मिचिमिचि हात धुने बानी बसालौँ।
- खोक्दा तथा हाच्छ्युँ गर्दा नाक मुख सफा कपडाले ढाक्ने बानी बसालौँ।यदि सफा कपडा नभेटिएमा हत्केला या कुहिनोले मुख ढाक्ने बानी बसालौँ।प्रयोग गरेका रुमाल तथा टिस्यु/नेप्किनको उचित ठाउँमा व्यवस्थापन गरौँ।
- सम्भव भएसम्म हातलाई आँखा, नाक तथा मुखबाट टाढै राखौँ।
- अभिवादन गर्दा हात मिलाउनुको साटो नमस्कार गर्ने बानी बसालौँ।
- अपरिचित व्यक्ति सम्पर्कमा आउदा एकअर्का बिचको दुरी कम्तिमा पनि एक मिटर (तीन फिट) कायम गरौँ।
- सकभर अरुबाट टाढै बसौँ। तथा सम्भव भएसम्म घरमै आराम गरौँ।
- फेस मास्कको सही ढंगले प्रयोग गरौँ। कपडाको (फेब्रिक) मास्क प्रयोग गरेको अवस्थामा ६–६ घण्टाको अन्तरमा साबुन पानीले सफा गरेर मात्र प्रयोग गरौँ। डिस्पोजेबल फेस मास्कलाई एकपटक भन्दा धेरै प्रयोग नगरौँ। सर्जिकल मास्क (एन ९५ रेस्पिरेटर) को सही प्रयोगले मात्र भाइरसबाट पूर्ण सुरक्षा मिल्दछ।
- स्वास्थ्यकर्मीको सल्लाह बिना औषधिको सेवन नगरौं। एन्टिबायोटिक्सले ब्याक्टेरियालाई मात्र मार्ने हुनाले डाक्टरको प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक्स नखाऔँ।
- आफू नआत्तिऔँ र अरुलाई पनि सान्त्वना दिऔँ। सामाजिक सद्भाव अनि सहिष्णुता र दुरी कायम गरौँ। सामाजिक भावना तथा मानवता प्रकट गरौँ।
- सकभर काँचो तथा नपाकेको माछामासु नखाऔँ। काँचो मासु छोएपछि हात तथा मासुको सम्पर्कमा आएका भाडाकुँडा राम्रोसँग धोऔं।
- आफूमा जागेको कौतुहलता तथा उत्पन्न जिज्ञासालाई अरुसँग बाडौँ।यदि आफूलाई बिरामी भएको (ज्वरो, रुघाखोकी, सास फेर्न असहज) महसुस भएमा तुरुन्तै डाक्टरको परामर्श लिऔं।
- इन्टरनेटमा भेटेका तथा अरुले भनेर सुनेका सबै कुरालाई विश्वास नगरौँ। अहिलेको अनिश्चितकालीन समयलाई मध्यनजर गर्दै सामाजिक संजालहरूमा धेरै अफवाह अनि भ्रमहरू फैलिएका छन्। त्यसैले केही पढेर मनन गर्नु अगाडि समाचारको स्रोत के हो अनि कत्तिको आधिकारिक छ त्यसलाई ध्यान दिऔं।
- विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आदिले दिएका स्वास्थ्य सल्लाह तथा सुझावहरूलाई पालन गरौँ।
यो महामारीको समयमा सामाजिक दुरीको साथै सामाजिक संजालको (फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदि) दुरी पनि कायम गर्न जरुरी छ। यसले आधारविहीन तथा झुटा समाचारको फैलावट रोक्नमा सहयोग गर्नुकासाथै यस्ता समाचार पढेपछि हुन सक्ने मानसिक तनावबाट बच्न पनि सहयोग गर्छ।

हरेक रोगसँग लड्न बिरामीको शारीरिक तथा मानसिक अवस्थाले ठूलो भुमिका खेल्ने भएकाले नियमित स्वस्थ आहार विहारका साथै कसरत तथा योग गर्ने बानी बसालौँ।बालबच्चा, बृद्घ बुवाआमा, तथा अरु रोगहरूसँग लडिरहेका व्यक्तिमा रोगसँग लड्ने शक्ति कम भएकाले यस्ता व्यक्तिले स्वास्थ्यमा अझ बढी ध्यान दिन आवश्यक छ।
उपचार तथा रोकथाम बारेको भ्रम र यथार्थ
आजका मितिसम्म नोबल कोरोना भाइरस ९सार्स(कोभ(२० सँग लड्ने कुनै पनि औषधी तथा खोप पत्ता लागिसकेको छैन। तथापि, अहिले सामाजिक संजालका भित्ताहरू कोरोनाको औषधीबारे हल्लैहल्लाले रङ्गिएको पाइन्छ। सामाजिक संजालका सेलिब्रेटीहरू तथा कतिपय अवैधानिक अनलाइन पोर्टलहरूबाट भिटामिन सी अथवा जिन्क को प्रयोगले कोभिड–१९ लाग्दैन या कसैले लसुनले समाधान गर्छ भन्ने सुनिएको छ। अवश्य पनि यी कुराहरूको प्रयोगले शरिरको प्रतिरोधात्मक शक्ति बढाउने भए तापनि ठ्याक्कै कोरोनासँग लड्नकै लागि काम गर्छन् भन्ने भ्रममा भने पर्नु हुँदैन।
यसो भन्दै गर्दा अहिले विभिन्न मुलुकमा फरकफरक औषधिको परीक्षण भइराखेको छ, जसमध्ये अमेरिकाको क्यालिर्फोनियास्थित गिलिड बायोटेक कम्पनीले उत्पादन गरेको रेम्डेसिभिर औषधि र्निमाण प्रक्रियामा अगाडि बढिरहेको छ। रेम्डेसिभिर यसभन्दा पहिले पश्चिमी अफ्रिकामा आएको इबोला महामारीको रोकथाम गर्न समेत टेस्ट गरिएको थियो तर बिरामीमा यसको नतिजा राम्रो नआएकोले यसको प्रयोग भएको थिएन।
यसै महिना चीनमा कोभिड–१९ का बिरामीको उपचारमा रेम्डेसिभिर प्रयोग गरिने भएको छ। त्यसपछि मात्रै हामीले कोभिड–१९ उपचारमा यो औषधीको प्रयोग गर्न मिल्ने नमिल्ने आधिकारिक जानकारी पाउनेछौं। रेम्डेसिभिर बाहेक अरु भाइरसविरुद्ध प्रयोग हुने जस्तै एभिगेन (फ्लूमा प्रयोग हुने) देखि लिएर मलेरियामा प्रयोग हुने हाइड्रोक्सिक्लोरोकुइन, आर्थराइटिसमा प्रयोग हुने एक्टेम्रा (टोसिलिजुमाव) सहित अन्य ३०० भन्दा बढी औषधी तथा खोपहरूको क्लिनिकल ट्रायल परिक्षणहरू जारी छन्।
तर यी सबै औषधी तथा खोप परीक्षणहरूको नतिजा आउन भने थोरैमा केही महिना नभए केही वर्षसम्म पनि कुर्नु पर्ने देखिन्छ।आशावादी बनौँ, छिट्ठै हामीले कोरोना र्निमुल पार्ने औषधी अथवा खोप पाउने छौं। तर अहिलेको लागि कोभिड–१९ बाट बच्ने सर्वाेत्तम उपाय भनेको साबुन पानीले मिचिमिचि हात धोऔं। सामाजिक दुरी कायम गरी घरमै बसौँ, अनि सन्तुलित आहार तथा सकारात्मक विचारको अवलम्बन गरि नोबल कोरोना भाइरस संक्रमण बाट आफू पनि बचौं अनि अरुलाई पनि बचाऔँ। यसमा नै हामी सबैको भलो छ।
(डा. सुवेदीले अस्ट्रेलियास्थित ला ट्रोब युनिभर्सिटीबाट 'बायोकेमेस्ट्री एन्ड जेनेटिक्स'मा विद्यावारिधि गरेका छन् भने डा. पौडेलले जापानस्थित होक्काइडो विश्वविद्यालयबाट 'कम्युनिटी हेल्थ नर्सिङ'मा विद्यावारिधि गरेकी छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।