काठमाडौं- डा राजन खनाल र प्रेमकुमार राईले पदबाट अवकाश पाएपछि तत्कालीन राजस्व सचिव शिशिरकुमार ढुंगानासँग दुई विकल्प थिए, गृहसचिव बन्ने या अर्थ? दोहोर्याएर राजस्व सचिव भएका उनले अर्थ मन्त्रालयबाट बाहिरिन खोजेनन् र एक तला माथि उक्लिए।
उपसचिव भएदेखि अर्थ मन्त्रालयको संरचनासँग परिचित ढुंगानाले सहसचिवको आफ्नो पुरा कार्यकाल अर्थ अन्तर्गतकै विभिन्न निकायमा बिताएका थिए। २०६० सालमा अर्थ मन्त्रालय प्रवेश गरेका उनले यही संरचना भित्रै आफ्नो करिअर अघि बढाए।
उनले आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ को प्रमुख, राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख, प्रशासन महाशाखा प्रमुख र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख भएर काम गरे। सचिव हुनुअघि उनी भन्सार विभागको महानिर्देशक भए।
अर्थात् अर्थ मन्त्रालयको मेनस्ट्रिम मानिले बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा उनले काम गर्न पाएनन्। यद्यपि, उनलाई यसमा कुनै गुनासो छैन।
ढुंगाना अहिले त्यही 'हट सिट'मा छन् जहाँबाट मुलुकको अर्थव्यवस्था सञ्चालन हुन्छ। कोरोना भाइरसका कारण अर्थव्यवस्थामा उत्पन्न संकटको सामना गर्न पहिलो चरणको राहत प्याकेज ल्याए। अब धेरैले सोध्न थालेका छन्- दोस्रो चरणको प्याकेज कहिले?
एकातिर दोस्रो चरणको राहतको खोजी भइरहेको छ भने अर्कोतिर सरकार नयाँ बजेटको दबाबमा छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अर्थ मन्त्रालय त्यसको तयारी गरिरहेको छ। दोस्रो चरणको आर्थिक प्याकेजको अहिले तयारी छैन।
अर्थमन्त्री डा युवराज खतिवडासहित ढुंगानाको टिम बजेट लेखनको सघन छलफलमा छ। अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल अघि बढाइरहेको छ। नयाँ बजेटमा के नयाँ ल्याउने भन्दा पनि अनिवार्य दायित्व भुक्तानीको व्यवस्था पहिले मिलाउने र पुराना काम अघि बढाउनेमा छलफल केन्द्रित छ।
अर्थतन्त्रलाई गति दिने गरी नीतिगत व्यवस्था गर्नु, राजनीतिक घोषणा र प्रतिस्पर्धाले सिर्जित चालु खर्चतर्फको उच्च दायित्व बहन गर्नु, रोजगारी सिर्जना र आयआर्जन विस्तार हुनेगरी नीति बनाउनु नै उनको अहिले मुख्य चुनौति हुन्। लक्ष्यअनुसारको राजस्व उठाउन क्याल्कुलेटका अंक दबाउन खप्पिस ढुंगानामाथि अब कोरोनाका कारण सिर्जित व्यवयभार मिलाउने गरी त्यसको बाँडफाँटको सूत्र तयार गर्नुपर्ने चुनौती छ।
ढुंगाना मात्रै होइन, बजेट लेखनमा उनका प्रथम सहयात्री धनिराम शर्माका लागि पनि यो चुनौती र अवसर दुवै हो। शर्मा बजेट लेखन समूहका नेतृत्वकर्ता हुन्। राजस्व समूहमा काबिल उनी पहिलोपटक बजेट तथा कार्यक्रम महाशाखाको नेतृत्व गर्न पुगे। ढुंगानाले गृह मन्त्रालय छोडेर अर्थ रोजेजस्तै उनले पनि मन्त्रालयभित्रका सबै महाशाखा छोडेर यही रोजेका थिए। ढुंगाना र शर्मा दुवै जना अन्य प्रतिस्पर्धीलाई छलाएर रोजेको सिटमा बस्न सफल भएका हुन्।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आन्तरिक बजार ठप्प छ। आर्थिक क्रियाकलाप ठप्पै छन्। लाखौँ मानिसले रोजगारी गुमाएका छन्। कृषक उब्जनी खेतमा कुहिने अवस्थामा पुगेको छ। दूध खाल्डामा पोखिएका छन्। विदेशमा बसेका नेपालीले पनि आफ्नो रोजगारी गुमाउने अवस्था आउँदैछ। उनीहरु स्वदेश फर्किए भने श्रमशक्तिको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेर आउनेछ।
यी सबै क्षेत्रलाई तंग्रन सक्ने गरी नीतिगत व्यवस्था अहिलेको आवश्यकता हो। अर्थात् बजेटमार्फत् अंकको मिलान मात्रै होइन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई गति दिने नीतिगत व्यवस्था चाहिएको छ जुन कार्यान्वयन योग्य होस्। जुन अहिले पुँजीगत खर्चका लागि छुट्याइएको बजेट जस्तो नहोस्।
विकसित देश जस्तो १/२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेर हात बाँधेर बस्न मिल्ने अवस्थामा अहिले सरकार छैन। कोरोनाले थलिएको अर्थ व्यवस्थालाई तीव्र रफ्तार दिने गरी नीतिगत व्यवस्था हुन जरुरी छ। कमजोर बनेको निजी लगानी र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने दायित्वमा अर्थमन्त्री, अर्थसचिव र उनको समूह छ।
अर्थतन्त्रका जानकार अर्थमन्त्री हुनुको फाइदा पनि उनलाई छ। अर्थतन्त्र पुनरुत्थानका योजनाबारे जानकार अर्थमन्त्री भएकाले यसको दबाब मन्त्री स्वयंले लिनेछन्।
अहिलेको बजेट निर्माण परम्परागतभन्दा फरक छ। अर्थात् यसअघि जस्ता विनियोजनका नियमित प्राथमिकता भन्दा सरकारले फरक बाटो रोज्नुपर्नेछ। 'हाम्रा प्राथमिकता फेरिएका छन्, त्यसैअनुसार काम गर्नुपर्नेछ,' सचिव ढुंगाना भन्छन्, 'हो, यसपकट धेरैवटा चुनौतीबाट हामी गुज्रिएका छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।