काठमाडौं/भक्तपुर/काभ्रे- शुक्रबार दिउँसो रोल्पा जान हिँडिरहेका देवराज, अजवीर र हर्कबहादुर पाँचखालबाट थानकोट पुगेका थिए। त्यतिबेरै सप्तरी जान काठमाडौंबाट हिँडेका सुपकला, भुपनारायण र सविनकुमार बनेपामा थिए। सँगै थिए- उदयपुर हिँडेका उपेन्द्र र अघिपछि अरु धेरै।
सयौँ किलोमिटर किन पैदल हिँडिरहेछन् यी श्रमिकहरु? अप्ठ्यारो समयमा यिनीहरुलाई सबैभन्दा ठूलो आश हुने सरकार यतै देखिन्छ। उनीहरुले भोट दिएका ‘ठूला नेता’ यतै कतै छन्। परिवर्तनका लागि सँगै लडेकाहरु पनि यहीँ छन्। आश गरेर, काम देखेर आएका यिनीहरु विपदमा किन भागिरहेछन् राजधानी नै छाडेर?
अभरका बेला भरपर्दो केही नभएपछि मानिस भर खोज्छ। साथ खोज्छ। आफ्नाहरु सँगै हुन् भन्ने चाहन्छ। विकल्प सोच्दछ। त्यसमध्ये राम्रो उपाय रोज्दछ। राजधानीबाट गाउँ हिँडेका श्रमिकको ताँतिले त्यस्तै भर, त्यस्तै विकल्प यतै भेट्दा हुन् त किन यत्रो बाटो पैदल हिँड्ने कष्ट सहँदा हुन्? हिँडौँ भनेर त्यत्रो आँट कहाँबाट जुटाउँदा हुन्?
यी श्रमिकहरु जसरी मौन काम गरिरहन्छन्, यसैगरी अहिले थातबासतिर पाइला चालिरहेछन् मौन। यिनीहरुले प्रश्न कहिल्यै गरेनन्, काम हुँदा र नहुँदा पनि। अहिले थोरै आश गरेका हुन्। सरकार भएको देशसँग।
तर अहिले पनि प्रश्न उनीहरुमाथि नै छ- ए किन तोडिरहेछौ लकडाउन?
प्रश्न तिनको बोली बोल्नेहरुमाथि छ- किन बेचिरहेछौ आँसु?
आँसु त किन बेच्नु? बिक्छ र? बिक्दो हो त हर्कबहादुर, सुपकलाहरुको आँसु थाप्न पहिले को पुग्दा हुन्? जसरी चुनावको बेला बिक्छ कटकटिएका बुँढी औँला, त्यसरी नबिक्दो रहेछ दुःख पर्दाको आँसु!
हुन त दुःख ज्यास्तै होस् तर पनि हर्कबहादुर र सुपकलाले आँसु नै कहाँ झारेका छन् र? केही चिन्ता, केही डर, केही शंकोचसँगै केही आश छ- कतै सरकार भेटिएला कि भन्ने। तर आँसु झारेका छैनन्। सहर बनाउन खटिएका यी श्रमिकहरु सहरकै संकटले गाउँ जानुपर्दा आश पनि नगरुन्?
कोराना भाइरस (कोभिड १९) को जोखिम कम गर्न लकडाउन गरिएको आज २६ दिन पुग्यो। यतिका दिन सहरमा बसिरहेका यी श्रमिकहरु अहिले गाउँ फर्किन पैदल हिँड्नुको कष्टमा यदि ‘दोष’ हुन्छ भने कसको हो? ‘आँसु बेचिरहेका’ आवाजहरुको या आँसु नदेख्ने सरकारको?
०००
रोल्पा त्रिवेणी गाउँपालिकाका १६ वर्षका देवराज पुनमगर घर हिँडिरहेका छन्। काभ्रे पाँचखालबाट बिहीबार हिँडेका उनी शुक्रबार दिउँसो थानकोटमा थिए। लकडाउन अघि काभ्रेमा घर बनाउने काममा खटिएका थिए। ठेक्कामा थिएनन्। काम माग्दै जाने र काम गर्ने। चार महिना भयो त्यसरी निर्माणको काममा लागेको।
रोल्पा कहिले पुगिएला त?
- ‘खै। जाँदै गरौँ।’
यसरी हिँड्न नहुने, यतै बस्न के अप्ठ्यारो भयो र?
- ‘भएको पैसा सकियो, खाने कुरा सकियो, कति दिन यस्तो हो कसरी बस्नु र!’
खान समस्या हुनेलाई यहिँ हेर्छ भनेको छ त, हिँडेर जाँदा अरु समस्या पनि थपिएला नि?
- ‘खै अब त्यस्तो त केही पाएन, कोठाभाडा तिर्न पनि मुस्किल छ।’
प्रहरीले बाटोमा रोकेनन्?
- ‘बाटोमा पुलिसले त रोकेको थियो। फर्किनु भन्थ्यो, हामीसँग पैसा पनि छैन। यहाँ बस्न खान समस्या छ भनेपछि जान दियो।’
देवराज रोल्पा पुग्न कस्सिएर हिँडिरहँदा उनीसँगै रोल्पा नै हिँडेका अजवीर बिकलाई विश्वास छैन देवराज यत्रो बाटो हिँड्न सक्लान्। ‘आलोकाँचो केटा छ के भर, सक्छु भनेर आएको छ आउन त’ अजवीरले शंका र मायाको स्वरमा भने।
५६ वर्षका अजवीरले पनि देवराजले जस्तै काभ्रेमा घर बनाउने कामहरु गर्दै जीविका गरिरहेका थिए। भूकम्पपछि त भरथेग कमाइ पनि थियो। भएको पैसा लकडाउन अघि नै घर पठाइदिए। अहिले साथमा पैसा सकियो।
‘कोठा भाडा तिर्नै परिहाल्यो। खानेकुरा पनि चाहिहाल्यो। त्यसैले काम पनि नभएपछि गाह्रो भयो नि। खै अब लकडाउन कहिले खोल्छ थाहा छैन। हिजो भक्तपुर नजिकै बस्यौँ। आज बिहान त्यहाँबाट हिँडेको’ अजवीरले सुनाए।
उनीसँग साथमा अहिले १२ सय रुपैयाँ छ। त्यतिले बाटोमा परेको गरौँला भन्ने आँट छ। झोलामा चाउचाउ, बिस्कुट र चिउरा भएकाले भोकको चिन्ता पनि केही दिनलाई छैन। हिँडिरहँदा उनलाई चिन्ता चाहिँ प्रहरीले कहाँबाट फर्काइदिने हो र न यता न उता भइने हो कि भन्ने छ।
‘हिँड्नुको विकल्प छैन, यहाँ यत्तिकै कसैले बस्न दिने कुरा पनि भएन। हुन त लकडाउन जनताको लागि नै हो तर हामीलाई दुर सफरको लागि घर लगिदिएको भए राम्रो हुने थियो। अरु पैसाहरु केही पनि चाहिँदैन थियो’ उनले थोरै भर खोजे।
देवराज र अजवीर सँगै छन् रोल्पा नै हिँडिरहेका हर्कबहादुर घर्ती। ४२ वर्षका उनी यी तीनमध्ये अलि देशकाल देखेका। दुई वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया पुगेर आएको सुनाउने उनलाई नेपालमै मेहनत गरौँ भन्ने लाग्यो। एक त यहाँ भनेको र विदेश पुगेपछिको काम मिलेन अर्को त लाग्यो- मेहनत देशमै पनि हुन्छ।
तर अहिले उनको मेहनतको पनि काम छैन। कतिञ्जेल यस्तै कामविहीन हुनुपर्ने हो ठेगान छैन। पैसा सकियो। खानेकुरा सकियो। जे होला गाउँमै होला भन्ने ठाने र बाटो लागे।
‘पहिले त सरकारले गाडीमा नै पठाइदिन्छन् कि भन्ने भएको थियो। पठाउँदैनन् भन्ने भएपछि हिँड्न निस्कियौँ। १२ दिनमा त कसो नपुगिएला। झोलामा केही लुगा, चिउरा, नम्किन बोकेका छौं। बास त जहाँ पुगिन्छ त्यही सडक छेउमा सुत्ने हो’ उनले भने।
कुरामै अघि थप्छन्- ‘काम सबै बन्द भइसक्यो। कमाएका केही पैसा घर पठाइ सकिएको थियो। बचेको केही २२ दिन खाँदा खर्च भइगयो। यो बन्दको ठेकान भएन त्यसैले हिँडेरै जान तम्सिएका हौं। काम गर्ने बानी भए पनि हिँड्ने बानी छैन। हिजो धेरै नै हिँडेकाले आज उही रफ्तारमा हिँड्न सकिएको छैन।’
काभ्रेबाट भक्तपुर बसेका उनीहरुलाई बिहान हिँड्दा काठमाडौंमा प्रहरीले खाना पनि खुवाए। ‘ती प्रहरीले कहाँ जाने भनेर सोध्नुभयो, दाङ हुँदै रोल्पा पुग्ने भनेपछि मेरो घर कैलाली हो नि भनेर खाना खुवाएर पठाउनु भयो। खाना बनाउँदासम्म थकाइ पनि मेट्यौँ’ उनले सुनाए।
०००
हर्कबहादुरको टोली थानकोटबाट रोल्पा हिँडिरहेकै बेला भुपनारायण चौधरी, सुपकला कुमारी चौधरी र सविनकुमार चौधरी धुलिखेलबाट सप्तरी हिँडिरहेका थिए। सँगै थिए उदयपुर हिँडिरहेका उपेन्द्र थापा। समूह समूहमा राजधानी छाड्नेहरु थानकोटतर्फ भन्दा बढी थिए धुलिखेलतर्फ।
रोल्पा हिँडेका हर्कबहादुर हुन् या सप्तरी हिँडेकी सुपकला, गन्तव्य फरक भए पनि उनीहरु सबैको कथा समान थियो। यहाँ बसिरहन खर्च सकियो, कसरी गर्जो टार्ने त्यसैले घर गएर बस्नुको विकल्प देखिएन।
भुपनारायण र उनकी श्रीमती सुपकलाकुमारी काठमाडौंमा घर बनाउने काम गर्दै आएका थिए। काम रोकियो र पैसा पनि सकियो। अहिलेसम्म खान बस्न दिएको ठेकेदारले कहिलेसम्म देला भन्ने डर भयो। त्यसैले निधो भयो घर जाने।
‘यो बन्द कहिलेसम्मको हो केही पत्तो भएन। यहाँ समस्या पर्नुभन्दा त घर जाने निधो गरेर श्रीमती र गाउँको भाइको साथ हिँडेको हो’ भुपनारायणले सुनाए।
न बास कहाँ बस्ने भन्ने ठेगान छ न त झोलामा भएको चाउचाउले कतिन्जेल पुग्छ भन्ने भर तर पनि उनीहरु हिँडिरहेकै छन्। यहाँ खानै नपाएर बस्नु पर्दैन सरकारले राहत दिन्छ भनेको उनीहरुले सुनेका छैनन्। या त उनीहरुले भर गरेका छैनन्। यसैले अप्ठ्यारो भारी टाउकोमा हालेर बाटो लागेका छन्।
राजधानी छाडेर घरको यात्रामा निस्किएकाहरुमा अलि भिन्न देखिन्छन् उदयपुर हिँडेका उपेन्द्र थापा। सप्तरी जाने टोली सँगै रहेका उनी अरु जस्तो अतालिएका देखिँदैनन्।
‘सबै हिँडेर घर जान सक्छन् भने म पनि सक्छु भनेर आँट आयो अनि बिहान निस्किएँ। नगएर पनि के गर्नु र, पहिले नै होटलमा खाएको ९ हजार तिर्न भइसकेको रहेछ, कोठामा पनि सामान सकियो। काम त रोकियो नै’, उनले भने, ‘यो बन्द कहिलेसम्म हो अत्तोपत्तो नभएकाले घर पुगिने आशले हिँडेको हो।’
उपेन्द्र पर्यटक बसमा सहायकको काम गर्थे। त्यसअघि केही समय ज्यामी काम पनि गरे। भन्छन्- ‘ठेकेदारले पैसा नदिएपछि त्यो काम छाडेर रेस्टुरेन्टमा काम गर्न गएँ र त्यहाँबाट बसमा काम गर्न।’
खल्तीमा भएको ६ सय रुपैयाँ र झोलामा भएको केही चाउचाउ बिस्कुटले घर पुग्छु भन्ने आँट उनले गरिरहेका छन्।
०००
यसरी राजधानी छाडेर गाउँ फर्कनेहरुको ताँती लागेको पनि थुप्रै दिन बित्योे। सञ्चार माध्यमसँगै सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी र सयौँ तस्बिर सार्वजनिक भइरहेका छन्। समाचार बढिरहँदा बाटोमा केही गाउँपालिकाले थोरै बाटो भए पनि गाडीमा लगिदिएर सहयोग गरिरहेका पनि छन्। धेरैले बाटोमा पानी र खानेकुरा, खाना सहयोग गरिरहेका छन्।
केन्द्रको शासन सम्हालेकाहरुमा भने अहिले प्रश्न यिनीहरु हिँड्नै हुँदैन थियो भन्नेमा छ। सञ्चार माध्यममा कपोलकल्पित आँसु बेचियो र भ्रम फैलाइयो भन्दै सरकारी सामाजिक सञ्जाल दस्ता पनि लागिरहेकै छ।
तर हरेक दिन घर फर्कने नागरिकको ताँति देखिरहेका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भने त्यो दुःखमा यहाँ नै रोकेर सहयोग दिन कहाँ चुकिएको हो भन्नेमा दुःखी देखिन्छन्।
‘बेलुकीपख काठमाडौँबाट आउने मजदुरको लस्कर हरेक दिन सडकमा देखिएको छ। भक्तपुरबाट जानेहरु पनि छन्। अहिले स्थानीय तहले अप्ठ्यारोमा परेकालाई राहत बाँड्ने र जो जहाँ छन् त्यही बसेर यो अप्ठ्यारो परिस्थितिमा लकडाउनको पालना गर्नुपर्ने हो तर पनि मानिसहरुसम्म सूचना नै पुग्न नसकेको हो कि जस्तो भएको छ’ शुक्रबार दिउँसो सडकमै भेटिएकी भक्तपुरकी प्रजिअ पाण्डेले भनिन्।
काभ्रेपलाञ्चोकका प्रजिअ तिमिल्सिना यस्तो समयमा गर्न सकिने कामका विषयमा शुक्रबार दिउँसो सुरक्षा निकायसँग छलफलमा नै थिए। उनले पनि धुलिखेलको बाटो हुँदै गाउँ हिँडेका नागरिक देखिरहेको धेरै दिन नै भयो। तर ती श्रमिक वर्गले खानै नपाउने अवस्था आउने डर किन माने थाहा छैन।
शुक्रबार सर्वोच्च अदालतले पनि बाटोमा हिँडिरहेका मजदुरका लागि निशुल्क यातायात व्यवस्था गरेर घर लैजानु भन्ने आदेश दियो। स्थानीय तहसँग समन्वय गरेर जान चाहनेलाई लगत राखिकन पठाउनु भन्ने सर्वोच्चको आदेश आएको केही घन्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा केही मन्त्री राखेर भने- ‘मजदुर जहाँ छन् त्यहीँ राख्नु, खाने कुरा नभए पुर्याउनु।’
तीन तहको शासनले रनभुल्ल परेको सरकारमा प्रधानमन्त्रीको यो आदेश कसरी पालना होला थाहा छैन तर रोल्पा हिँडेका हर्कबहादुर र सप्तरी हिँडेकी सुपकलालाई अझै लागिरहेको छ- सरकारले हामीलाई बाटोमा भेटेर घर लगिदिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।