काठमाडौं- बीमा समितिले कोरोना भाइरस (कोभिड- १९) बीमा लेख जारी गरेको छ। समितिले ‘क’ र ‘ख’ गरेर दुई वटा बीमा लेख तयार पारेको हो। ‘क’ वर्गको बीमा लेखको बीमाङ्क रकम एक लाख रुपैयाँ रहेको छ भने ‘ख’ वर्गको बीमा लेखको बीमाङ्क रकम एक लाख रुपैयाँ रहेको छ।
एक लाख रुपैयाँको बीमा लेख खरिद गर्दा एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने छ। यदि परिवारकै बीमा गर्ने हो भने थप ६ सय रुपैयाँसहित १ हजार ६ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ। त्यस्तै ५० हजार रुपैयाँको बीमा लेख खरिद गर्दा ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नु पर्नेछ। साथै सोही बीमाङ्क रकमका लागि सम्पुर्ण परिवारको बीमा गर्ने हो भने थप तीन सय रुपैयाँसहित ९ सय रुपैयाँ प्रिमियम भक्तानी गर्नुपर्ने व्यवस्था गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षाको अवधि रहनेछ। यस बीमा लेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुल मार्फत् गर्ने व्यवस्था गरिएको छ। समितिले यो बीमा लेख शुक्रबार सञ्चालक समितिबाट पारित गरेसँगै निर्जीवन बीमा कम्पनीहरुले तुरुन्तै जारी गर्न पाउने छन्।
कोरोनाको परीक्षण गर्दा सकारात्मक देखिने वित्तिकै बीमितले उचार खर्च पाउने पौडेलले जानकारी दिए। समितिले कृषि बीमा लेख र पशु बीमा लेखका लागि जिल्ला छुट्टाएर कम्पनीहरुलाई काम गर्न निर्देशन दिए अनुसार नै यो पोलिसी पनि बिक्री गर्नु पर्नेछ। बीमा कम्पनीहरुले अनिवार्य रुपमा ती जिल्लाहरुमा गएर यो पोलिसी बिक्री गर्नु पर्नेछ। बीमा कम्पनीहरुले आइतबारदेखि नै यो पोलिसी बिक्रीको लागि समितिसँग अनुमति लिन सक्नेछन्।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हालसम्म एक लाख ३७ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ। यसबाट विश्वमा २० लाख ६५ हजार मानिस संक्रमित भैसकेका छन्। संक्रमित हुने मध्ये ५ लाख १७ हजारलाई निको भैसकेको छ।
यो रोगबाट संक्रमित हुने वित्तिकै आइसोलेसनमा बस्नु पर्ने हुन्छ। डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खाएर सुरक्षित साथ बस्नु पर्ने हुन्छ। यस अवधिमा हुन सक्ने जोखिमलाई कभरेज हुने गरी समितिले यो पोलिसी जारी गरेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।
नेपाल सरकारले कोरोना भाइरसकाे संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न चैत ११ गतेदेखि मुलकभर अत्यावश्यक बाहेकका सेवाहरु आवश्यक कर्मचारी मात्रै उपस्थित भई सञ्चालन गर्न र सर्वसाधारणलाई घर बाहिर ननिस्कन सूचित गरेको छ। यसको जोखिमलाई न्यूनिकरण गर्न सर्वसाधारणले बीमा कम्पनीमा गएर बीमा गर्न सक्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।