काठमाडौं- राष्ट्रिय जनता पार्टीका संयोजक शरतसिंह भण्डारीले सीमामा थप कडाइ गर्नुपर्ने बताएका छन्।
‘छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको कारणले खुला सीमानामा अझ निगरानी बढाउनुपर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नुपर्दछ’, भण्डारीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
सरकारले वैशाख १५ गतेसम्म बढाएको लकडाउनलाई उनले स्वागत गरेका छन्। तर त्यसलाई प्रभावकारी बनाउन भन्दै चार वटा सुझाब पनि दिएका छन्।
यस्ता छन् भण्डारीका सुझाबहरुः
१. लकडाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरी हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ-आफ्नो जिल्लातर्फ गइरहेका छन्। जसले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ।
२. उपत्यका लगायत देशको विभिन्न भूभागमा फसेका नागरिकहरु, जसलाई खान बस्न गाह्रो भएको अवस्था छ, तिनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनुपर्दछ। यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।
३. छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरी आवतजावतलाई कडाइका साथ रोक्नु पर्दछ।
४. देशको विभिन्न भूभागमा अहिले आएर संक्रमितहरुको संख्या बढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ्य सामग्रीहरु पाउन सकिरहेको छैनन्। त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।