तस्बिर पीटीआई
नयाँ दिल्ली- भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेकाे छ। काेराेनाबाट सबैभन्दा धेरै महाराष्ट्र प्रभावित भएको छ। महाराष्ट्रको पनि मुम्बईमा काेराेनाका धेरै संक्रमित भेटिएका छन्।
भारतमा काेराेनाका करिव ११ हजार संक्रमित रहेका छन् भने यस राेगबाट ४०० जनाले ज्यान गुमाएका छन्। यी मध्ये सुरुमा काेराेना संक्रमण भएका ५० बिरामीकाे मृत्यु विश्लेषण गर्दा अधिकांशकाे मृत्यु अस्पताल पुग्ने वित्तिकै भएको पाइएको छ। यसरी मृत्यु भएकाहरुको कोरोना परीक्षण मृत्युभन्दा केही समय अघि मात्र भएकाे पाइएको छ।
राज्य सरकारहरुले यस्तो समस्या किन भयो भनी अध्ययन गर्न एक विशेषज्ञ टास्क फोर्ससमेत बनाएका छन्। उनीहरुलाई यी बिरामीहरुको मृत्यु किन यति छिटो भयो भनी अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ। त्यस्तै यो टास्क फोर्सले गम्भीर बिरामीहरुको उपचारका लागि नियमसमेत बनाउने छ।
मुम्बईका ६ अस्पताललाई कोरोना भाइरस पीडितको उपचार गर्ने जिम्मेवारी दिइएको छ। मुम्बईमा ५० मध्ये १४ जना बिरामीको मृत्यु अस्पताल भर्ना भएको केही घन्टामा भएको थियो। २६ जनाको मृत्यु एक दिनपछि भएको थियो। यस बाहेक ११ घटनामा मृत्युपछि मात्र रिपार्ट आएको थियो। १४ जनाको रिपाेर्ट मृत्युको एक घन्टाभन्दा कम समय अघि आएको थियो। ५० मृतकमध्ये ३९ पुरुष र ११ महिला थिए।
विशेषज्ञ तथा अधिकारीले यस्तो हुनुका पछाडि धेरै कारणहरु भएको बताएका छन्। केही बिरामीको मृत्यु निजी र सरकारी अस्पतालमा उपचारको खोजीको चक्कर काट्दाकाट्दै भएकाे थियो। रुघा खोकी र ज्वरोका बिरामीहरुलाई समयमा परीक्षण र उपचार नर्गदा पनि यस्तो घटना भएको देखिएकाे छ। कयौं बिरामीहरु गम्भीर अवस्था भइसक्दा पनि घरमै उपचार गरेर बस्दा पनि यस्तो भएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।