काठमाडौं– नेपाल राष्ट्र बैंकले आह्वान गरेको ५ र रुपैयाँ दरका नोट छाप्ने टेण्डर चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको छ। बैंकले नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो।
बोलपत्र अनुसार ५ रुपैयाँ दरको ३० करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ति हुनेछन्। गत चैत २८ गते सम्झौता भएको हो।
उक्त कम्पनीले १० रुपैयाँको दरका ३४ करोड थान नोट छाप्ने छ। मुद्रा व्यवस्थापन विभागका अनुसार ५ रुपैयाँँ दरका नाेट ४३ लाख ९५ हजार ५०० अमेरिकी डलर र १० रुपैयाँ दरका नाेट ४१ लाख ४० हजार ४०० अमेरिकी डलरमा छाप्ने सम्झौता भएको हो। दुबै नोटमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।
विभागले प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गर्दा न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही बोलपत्र चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पेश गरेकोले सम्झौता गरिएको जनाएको छ।
बैंकले १४ जनवरी २०२० मा नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।