काठमाडौं- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नयाँ सुविधाहरु थप गरेको छ। सुविधानहरु ग्राहकहरुको माग अनुरुप थपिएको उसले जनाएको छ।
सुविधा थप भएसँगै ग्राहकहरुले अब सजिलै सेलपे मोबाइल वा वेब एप्लिकेसन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका विभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेन्ट कम्पनीका इएमआई भुक्तानी गर्नुका साथै ग्राहकले आफूले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरिका आफूलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्टबाट प्राप्त गर्ने सक्ने छन्।
हाल विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा थप सेवा र सुविधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता हुने बताएको छ।
सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाइदा लिनको लागि आफ्नो सेलपे एपमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन्।
यसका साथै देशभित्र कुनै पनि ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो ईच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन्। यसरी पैसा पठाइसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आइडी प्राप्त गर्नेछन् र त्यस आइडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त आइडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन्।
सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा भएको कम्पनीको दाबी छ। वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्टस पाइने लगायतका विशेषता यसका छन्।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पिटूपी, पिटूबी, बिटूपी, बिटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।