एजेन्सी–न्युयोर्क सिटीमा केही सातामा घरमै ३७ सयभन्दा बढीको मृत्यु भएको खुलासा भएको छ। अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३ हजार ७ सयभन्दा बढी रहेको न्युयोर्कका मेयरल बिल ब्लाजिओले जनाएका छन्।
यो संख्या मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको हो। यस्तो निष्कर्ष बिरामीमा देखिएको लक्षणका आधारमा निकालिएको मेयर ब्लाजिओको भनाइ छ।
यसरी घरमै मृत्यु हुनेहरुमा ब्रुकलिनमा ६५६ जना, क्वीन्समा ५२७, म्यानहाटनमा ३३५ र ब्रोंक्समा ३५० जना रहेका छन्। स्टेटन आईल्याण्डमा ५० जना र अन्य विभिन्न ठाउँमा ९ जना छन्। यसरी अस्पतालै नगई मृत्यु हुनेको संख्या ३ हजार ७ सय ७८ रहेको छ। ५७ जनाबाहेक अरु सबै मृतकहरु ४५ वर्ष काटेकाहरु हुन्।
उनीहरुको ल्याब परीक्षण नभए पनि उनीहरुको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण कोभिड १९ वा त्यस्तै लक्षण उल्लेख गरिएको छ। अब न्युयोर्क सिटीमा कोरोना सम्बन्धित मृत्यु १० हजार नाघेको छ ।
न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ। मंगलबार दिउँसो सार्वजनिक गरिएको यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो ।
मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ। उनीहरुमा कोरोना पोजेटिभ पनि देखिएको थिएन भने मृत्यु प्रमाणपत्रमा पनि मृत्युको कारण कोरोनासँग मिल्दोजुल्दोसमेत उल्लेख छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।