काठमाडौं- निर्वाचन क्षेत्र पूर्वाधार विकास (तत्कालीन संसद् विकास) कोषको रकम कोरोन भाइरस संक्रमण रोकथाम ताथ उपचार कोषमा रुपान्तरण गरिने भएको छ। मंगलबार संसद्को कार्य व्यवस्था समितिको बैठकले यस्तो निर्णय गरेको हो।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउन उपयुक्त हुने भन्दै समितिले यस्तो निर्णय गरेको हो।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना नियन्त्रणमा सांसद्हरूको भूमिकका विषयमा छलफल गरेका थिए। छलफलमा सहभागी सबैजसो सांसद्हरूले संसद् विकास कोषको रकम कोरोना उपचार कोषमा रुपान्तरण गर्न सुझाव दिएका थिए। दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको समस्यालाई तत्काल सम्बोधन गर्न पनि उनीहरुले सुझाव दिए। नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा स्वास्थ्य र सुरक्षा क्षेत्रमा सक्रिय संस्था र विशेषज्ञहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरेको थिए।
इपार्लियामेन्टको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका थिए। यसको तयारीका लागि सचिवालयबाट आवश्यक बजेट तथा प्राविधिक तयारी गर्न निर्देशन दिनुपर्ने सुझाव उनीहरुले दिएका छन्। सरकारले पनि अनलाईनबाट सेवा प्रवाह गर्नुपर्ने सांसद्हरूको भनाइ थियो।
संसदका बैठक सञ्चालनका लागि सावधानी अपनाउन डिसइन्फेक्सन गेटलगायतका पूर्वाधार तत्काल व्यवस्था गर्नुपर्ने; स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिलाई विश्वासमा लिन उनीहरुको सुरक्षा र उत्प्रेरणाको आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव बैठकमा आएको प्रवक्ता रोजनाथ पाण्डेले बताए।
नोभल कोरोना भाइरस कोभिड–१९ को प्रकोपबाट सिर्जित विषम् परिस्थितिका सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारबाट भैरहेका कामकारवाहीका बारेमा सम्माननीय सभामुख सातै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखसँग छलफल गरी राय परामर्श भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।