काठमाडौं– सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै देशभर लकडाउन गरेको तीन साता पूरा भइसकेको छ। लकडाउनसँगै विकास निर्माणको काममा अवरोध आएको छ। तर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम भने जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देश राजन पोखरेलले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३ सय मिटर रन–वे विस्तारको काम पनि तिब्रताको साथ भइरहेको पोखरेलले जानकारी दिए।
‘पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनिया कामदार छन्’, पोखरेलले भने, ‘आयात गरेर जडान गर्नुपर्ने उपकरणको काम रोकिए पनि पहिले नै आएको उपकरण जडान तथा स–सनाका काम भइरहेको छ।’
पोखेरेलका अनुसार भैरहवामा निर्माण समाग्री अभाव भए पनि १ सय २५ भन्दा बढी कामदारले गेट बन्द गरेर गरे काम गरिरहेका छन्। यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ३ सय ७१ कामदारले काम गरिहका पोखरेल बताउँछन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने समय सीमा २०२० को मार्चसम्म भए पनि कोरोनाका कारण समय लम्बिएको छ। यसैगरी सरकारले २०२१ को जुलाईभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य सहित काम गरिरहेको छ। दुई वटै विमानस्थल निर्माणमा चिनिया कम्पनीले काम गरिरहेका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थलको ९२ प्रतिशतभन्दा बढी काम सकिसकेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि ५० प्रतिशत काम सकिसकेको छ।
यसैगरी कोरानाकै बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे विस्तारको काम पनि भइरहेको पोखरेलले जानकारी दिए।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोटेश्वर तर्फ ३ सय मिटर धावन मार्ग विस्तारको काम धमाधम भइरहेको छ,’ पोखरेलले भने, ‘धावन मार्गका ३ लेयर मध्ये २ लेयरको काम बाँकी छ। एक लेयरको काम लकडाउनकै अवधिमा सम्पन्न भइसकेको छ।’
धावन मार्ग विस्तारमा ६० जना कामदार भित्रै बसेर काम गरिरहेका छन्। लकडाउनको सुरुवाती चरणका केही समस्या आए पनि राष्ट्रिय गौरवको आयोजनाको काम अगाडि बढाउन गृह मन्त्रालयले पनि सहकार्य गरिरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।