राजविराज- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक युवक मृत फेला परेका छन्। उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।
हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित, भलुवा र कंकालिनी मन्दिरको विचमा युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। कंकालिनी मन्दिरबाट पूर्व कोशीको पश्चिमी तटबन्धमा रहेको झाडीभित्र शव भेटिएको डिएसपी मकेन्द्र मिश्रले बताए।
मृतकको गर्धनमा काटेको निशान देखिएकाले उनको हत्या नै भएको हुनसक्ने मिश्रले बताए। तर, हालसम्म हतियार भने बरामद भएको छैन। ‘आइतवार राति नै कसैले उनको हत्या गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौं। सत्यतथ्य चाँडै पत्ता लाग्छ।’
मृतकको मुखमा चोट र शवको वरिपरि रगत भेटिएको उनले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत मगाएको छ। तटबन्धमा रगतका छिटासमेत देखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।