ललितपुर- महालक्ष्मी नगरपालिका- ३ का युवाहरुले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन्। बोजेपोखरी नागरिक समाजको तर्फबाट उनीहरुले ‘दीन दुःखी भोजन दान कार्यक्रम’को आयोजना गरी लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क भोजनको प्रबन्ध गरेका हुन्।
स्थानीय बोजेपोखरीमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खान इच्छुक जोसुकै व्यक्तिलाई पनि एक छाक खानाको प्रबन्ध मिलाइएको कार्यक्रम आयोजक कमिटीका सदस्य सुमन केसीले जानकारी दिए।
खाना व्यवस्थापनको लागि स्थानीय युवा जयकुमार केसीको संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समितिमा रहेका युवाहरुले आवश्यक स्रोत साधनको जोहो गरी गत बुधबारदेखि भोजन कार्यक्रमको आयोजना गर्दै आएका छन्। भोजन कार्यक्रम लकडाउन अवधिभर जारी रहने केसीले जानकारी दिए।
‘हामीले इच्छुक दाताहरु र हाम्रो आफ्नै आर्थिक तथा जिन्सी सहयोगबाट यो कार्यक्रम संचालन गरेका हौं, लकडाउनले गर्दा यस वडाका कोही पनि भोकै बस्नु नपरोस् भन्ने हेतुले यहाँका युवाहरुको सक्रियतामा यो कार्यक्रम सुरु गरेका हौं’, सदस्य केसीले भने।
हाल दैनिक सरदर ४ सयभन्दा बढी मानिसहरुले दैनिक एक छाक भोजन गरिरहेको र यो संख्या दिनदिनै वृद्धि भइरहेको उनले बताए। अझै कोही भोकै भए आफूहरुलाई सम्पर्क गर्न पनि उनले आह्वान गरेका छन्।
भोजनका लागि बोजेपोखरीको चौरमा प्रबन्ध मिलाइएको छ। भाइरसको जोखिम नहोस् भन्नका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड बमोजिम सम्पूर्ण सुरक्षात्मक उपायहरुको प्रबन्ध गरिएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।