काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बढ्न सक्ने संकेत गरेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
शनिबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवार पुगरे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गरेका प्रधानमन्त्रीले लकडाउन तत्काल अन्त्य गर्ने योजना नरहेको मुख्यमन्त्रीहरूलाई बताएका थिए। उनले कोभिड-१९ परास्त गर्न सामाजिक दूरी कायम गर्नुको विकल्प समेत नभएको बताएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
'लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पार्नुभयो। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो,' बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भनेका छन्।
कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले कोरोनाको जोखिम न्यूनीकरणमा गरेका कामबारे सबै प्रदेश सरकारले गरेका काम कारबाहीबारे जानकारी लिएका थिए।
सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका थिए। साथै, स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताएको जनाइएको छ।
लकडाउनमा प्रशासनिक लापरबाही नगर्न, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने बताएका प्रधानमन्त्रीले केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत बताएका थिए।
जनतालाई दु:ख दिन नभई, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए। सरसफाईमा ध्यान दिन, माक्स र चस्मा प्रयोग गर्न र पनि उनले आग्रह गर्नुपर्ने बताएका थिए।
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग बिहान ११:३० देखि अपरान्ह ३: ४० बजेसम्म सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी भिडियो कन्फ्रेन्सिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।