राजविराज– लकडाउनका कारणले मजदुरको अभाव भएपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै लगानीमा किसानलाई गहुँ काट्ने व्यवस्था मिलाएको छ। करीब २८ लाख लगानी गरी मेसिन मार्फत गहुँ काट्ने मेसिनको व्यवस्था गरिएको छ।
गाउँपालिकाले ४ वटा मेसिन खरिद गरी पहिलो चरणमा वडा नं ७ बाट गहुँ काट्न सुरु गरेको र ८ वटै वडामा यो सुविधा उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष सतिष कुमार सिंहले जानकारी दिए। करीब १ हजार बिघामा लगाइएको गहुँ पाक्न थालेको र मजदुर नपाउँदा खेतमै नष्ट हुने अवस्था आएपछि नागरिकको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले नै अग्रसरता देखाएको उनले बताए।
ट्याक्टरमा गहुँ काट्ने मेसिन जडान गरेर काम सुरु गरिएको उनले बताए। गहुँ काट्ने कार्यका लागि मेसिन, ईन्धन, ट्याक्टर भाडा र ज्यालासहित करीब २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सिंहले बताए।
गाउँपालिकाले आफ्नै लगानीमा गहुँ काट्ने व्यवस्था मिलाइदिएपछि स्थानीयबासी भने खुसी भएका छन्। मजदुर लगाएर गहुँ काट्दा प्रतिबिघा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गरे पनि गाउँपालिकाले नै त्यो व्यवस्था मिलाइदिएकाले ठूलो राहत मिलेको स्थानीय भोला मुखियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।