काठमाडाैं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत महिनाको शिक्षण शुल्क छुट गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ। एक महिनाको आवास बाहेकको अन्य सबै शुल्क मिनाह गर्न केन्द्रले विद्यालयहरुलाई निर्देशन दिएको हो।
केन्द्रले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै चैत महिनाभित्र शुल्क मिनाह गरेर प्रतिवेदन पेस गर्न ताकेता गरेको छ। काेराेना भाइरस (कोभिड–१९)काे संक्रमणका कारण चैत पहिलो सातादेखि नै मुलुकभरका विद्यालय बन्द छन्। केन्द्रकाे निर्देशक गेहनाथ गौतमले स्थानीय तहअन्तर्गत शिक्षा शाखा/विभागलाई शुल्क मिनाह कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले पनि निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारका शुल्क छुट दिने निर्णय गरेको थियो। प्याब्सन, एनप्याब्सन र हिसानसँग समन्वय गरेर शुल्क छुट गर्न निर्देशन दिइएको हाे।
यसअघि प्याब्सनका महासचिव कुमार घिमिरेले सरकारसँग छलफल नगरी शुल्क फिर्ता गर्न नसिकने बताएका थिए भने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्देशन सबैले पालाना गर्नुपर्ने बताएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।