काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका ६ जना पदाधिकारीले राजीनामा दिएका छन्। राजीनामासँगै उनीहरुले बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउलाई क्लबमा भइरहेका काम आफूहरुलाई चित्त नबुझेको पनि बताएका छन्।
६ जनाले संयुक्त रुपमा लेखेको पत्रमा उनीहरुले पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण क्लबमा परेको आर्थिक संकट कम गर्न लिइएका नीतिहरुमा पनि आपत्ती जनाएका छन्। उनीहरुले नयाँ अध्यक्षको चुनावको माग पनि गरेका छन्।
क्लबका चार उपाध्यक्ष मध्यका दुई इमिली रोउसाउद र इनरिक तोमबास साथै चार डाइरेक्टर सिल्भियो इलियास, जोसेप पोन्ट, जोर्डी काल्सामिग्लिया र मारिया टिजिडरले राजीनामा दिएका हुन्।
‘क्लबमा जसरी काम भइरहेका छन् त्यसलाई हामी परिवर्तन गराउन असमर्थ छौँ, यो विपतको समयबाट अगाडि बढेपछि पनि क्लबलाई राम्रो लयमा आउन समस्या हुने देखिएको छ। अहिले काम भइरहेको शैलीमा परिवर्तन आवश्यक छ’ उनीहरुले लेखेका छन्।
६ जनाको राजीनामापछि बार्सिलोनाले नयाँ ढंगमा अघि बढ्नका लागि नयाँ ढंगले अघि बढ्ने र रिक्त स्थान पूरा गर्ने जनाएको छ। क्लबले राजीनामा दिनेले भनेको जस्तो जटिल परिस्थिति नरहेको र विपतपछिको सामना गर्न पनि तयार रहेको उल्लेख गरेको छ।
कोरोना भाइरस (कोभिड १९) का कारण बार्सिलोनाका खेलाडीहरु ७० प्रतिशत कम तलब लिन तयार भएका छन्। जुन युरोपभरका सबै क्लबको भन्दा धेरै हो।
क्लबभित्र लामो समयदेखि रहेका असन्तुष्टी र विवादका कारण अहिलेको राजीनामा आएको स्पेनिस सञ्चार माध्यमहरुले उल्लेख गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।