एजेन्सी–आमा, जसले आफ्नो सन्तानका लागि जस्तोसुकै अप्ठेरो पनि सहन सक्छिन्। जस्तोसुकै पीडा पनि भोग्न तयार हुन्छिन्।
भारतकी एक महिलाले आफ्नो छोरालाई लिन स्कुटरमा १४०० किलोमिटर यात्रा तय गरिन्। तेलांगनाकी रजिया बेगम लकडाउनका बेला आन्ध्रप्रदेश पुगिन्। दिनरात स्कुटर चलाइन्। सुनसान जंगलको बाटोमा पनि रोकिइनन्। यसरी यात्रा गर्दा उनको एकमात्र उद्देश्य थियो, छोरो भएको स्थानमा कसरी पुग्ने? रजिया बेगमका छोरा आन्ध्र प्रदेशको नेल्लुरमा थिए। निजामावाद जिल्लाको बोधन सहरस्थित उनको घरबाट नेल्लुर ७०० किलोमिटर दूरीमा छ।
रजिया एक सरकारी विद्यालयकी शिक्षक हुन्। उनका तीन सन्तान छन्। १४ वर्षअघि उनले पति गुमाएकी थिइन्। उनका छोरा मोहम्मद निजामुद्दीन बोधनमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन्। उनी मार्चमा एक साथीको वुवा बिरामी भएपछि लकडाउन हुनुभन्दा १५ दिन पहिले नेल्लुर गएका थिए।
यहीबीचमा देशमा लकडाउन घोषणा भयो। सुरुमा लकडाउन केही दिनमात्र होला भन्ने थियो। तर यो निकै लामो समय जाने देखेपछि रजिया छटपटिएकी थिइन्। यही चिन्ताका कारण उनी छोरालाई लिन जाने निर्णयमा पुगिन् र यति लामो यात्रा तय गरिन्। त्यहाँ अन्य कोही आफन्त पनि नभएको र उक्त क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आफू छोरालाई लिन जाने निश्चित भएको उनले बताइन्।
उनी प्रहरीसँग सहयोग माग्न पुगेकी थिइन्। अनुमति माग्न प्रहरी कार्यालय पुगे पनि निरासा हात लागेपछि उनी स्कुटर बोकेर हिँडेकी थिइन्। उनलाई कार पनि लैजान सुझाव दिइएको थियो तर उनले स्कुटर नै रोजिन्। कार लैजाँदा राजमार्गमा प्रहरीले धेरै दुःख दिने भएपछि उनले स्कुटर रोजेकी थिइन् ।

५० वर्षकी रजिया २५ वर्षदेखि स्कुटर चलाइरहेकी छन् । उनी स्कुटीमा हैदराबाद आउने जाने गर्छिन्। यही यात्राले उनलाई १४०० किलोमिटर यात्रा गर्न आँट बढेको थियो। ६ अप्रिल बिहान उनी नेल्लुर पुगेकी थिइन्। यो यात्रामा उनले सामाजिक दूरीको पनि पालना गरेकी थिइन्।
प्रहरीले जब रोक्यो
उनी पेट्रोल भर्न पम्पहरुमा १५ देखि २० मिनेट रोकिन्थिन्। अनि फेरि यात्रा जारी राख्थिन्। प्रहरीले ठाउँ–ठाउँमा उनलाई फर्कनु भन्दै रोकेको थियो तर उनी आफ्नो अडानमा अडिग रहेर अघि बढिरहिन्। ‘यसरी प्रहरीले रोक्दा मेरो एउटै उत्तर हुन्थ्यो उसका बा छैनन् र एकमात्र अभिभावक आमा आफू भएकाले जानु आवश्यक छ,’ उनले भनिन्।
प्रहरी उनको जवाफ सुनेर सुरक्षा चुनौती देखाउने गर्थे। तर उनले हिम्मत हारिनन्। ‘मैले निकै लामो यात्रा तय गरिसकेकी थिएँ त्यसैले उनीहरुको कुरा सुनेर फर्कने अवस्थामा थिइनँ’ उनले भनिन् ‘म यसरी रातको दुइ वजे नेल्लुरको चेकपोष्ट पुगँे उनीहरुले मलाई रोके मैले मेरो यात्रा सुनाएपछि केही समय आराम गर्न दिए।’
उनलाई दुई घन्टासम्म बस्न दिए। त्यसपछि छोरालाई फोन गरिन्। छोरो चेकपोष्टमै लिन आएपछि उनी साथीको घर पुगिन। रजिया सोमबार विहान ६ वजे निस्केर मंगलवार विहान सात वजे छोरा भएको ठाउँमा पुगेकी थिइन् । उनीहरु साँझ चार बजे नेल्लुरबाट फर्केका थिए र बुधबार आफ्नो घर आइपुगेका थिए।
उनले यो कुरा आफ्ना दुई सन्तान र आफन्तहरुलाई पनि बताएकी थिइनन्। उनी विद्यालयको काम छ भनेर घरबाट बाहिर निस्केकी थिइन्।
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।