काठमाडौं- चीनको तिब्बत सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा शुक्रबार एक कार्यक्रम गरी तिब्बत स्वायत्त क्षेत्र सरकारको तर्फबाट तिब्बत प्रान्तीय परराष्ट्र कार्यालयका महानिर्देशकले नेपालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। उक्त सामग्री नेपाली महावणिज्य दूत गोविन्दबहादुर कार्कीले बुझेका थिए।
नेपाली महावाणिज्य दूतावासका वाणिज्य दूत जिम्सन रुम्दाली राईले विभिन्न ६ किसिमका स्वाथ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको बताए। स्वाथ्य सामग्रीमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पिसिआर टेस्ट किट, पिसिआर मेसिन, एन ९५ मास्क, स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर छन्।
त्यसको परिणाम भने नखुलेको राइले बताए। ‘तिब्बत सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो,’ ल्हासाबाट टेलिफोन सम्पर्कमा राइले नेपाल लाइभसँग भने, ‘ ठ्याक्कै कति परिणाम हो भनेर उनीहरुले पनि खुलाएर भनेको छैन। आइटमहरु चाहिँ खुलाएको छ। ६ वटा आइटम छन्।’
उक्त सामग्री ल्हासामा नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको भए तातोपानी भन्सारसम्म तिब्बत सरकारले ल्याउनेछ। त्यहाँबाट चिनियाँ दूतावासले काठमाडौंमा ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।
राईले एक हप्ता जतिमा ती सामग्री नेपाल आइपुग्ने बताए। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीटरमा ती समान चाँडै नेपाल आउने उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।