इटहरी- सुनसरीको धरानमा लकडाउन उल्लंघन गर्ने ९७ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।
प्रहरीले लकडाउन उल्लंघन गरी पैदल हिँड्ने, मोटरसाइकल वा स्कुटर चलाउने सर्वसाधारणहरुलाई नियन्त्रणमा लिन थालेको हो। इलाका प्रहरी कार्यालय धरानले शुक्रबार साँझ लकडाउन उल्लंघन गर्ने ९७ जनालाई नियन्त्रणमा लिएर पब्लिक हाइस्कुलको मैदानमा २ घण्टा राखेर छाडेको छ।
इलाका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार कामबिना नै बाहिर हिँड्ने र बजारमा भिड गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको हो। मास्क नलगाई हिँड्ने र जथाभावी गर्नेलाई कारबाही गर्न थालिएको उनले बताए।
नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई कोरोनासम्बन्धि जनचेतनामूलक कक्षामा समावेश गराइएको छ। तर उनीहरुले चलाउने गरेको सवारी साधन भने लकडाउन नखुलेसम्मको फिर्ता नहुने डिएसपी न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।