काठमाडौं- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले उच्चस्तरीय संयन्त्र नचाहिएको भन्दै आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्काटाले कोरोना नियन्त्रणमा सरकार र प्रतिपक्ष दुवै मिलेर काम गरेका बेला सर्वदलीय संयन्त्रण बनाउने विषय सरकारले खारेज गर्नुपर्ने उल्लेख गरेका हुन्।
प्रचण्डले बिहीबार एक टेलिभिजन अन्तर्वार्तामा कोरोना नियन्त्रणमा कांग्रेससमेतलाई समेटेर सर्वदलीय उच्चस्तरीय संयन्त्र बनाउन सकिने अभिव्यक्ति दिएपछि बाँस्कोटाले विरोध गरेका हुन्।
‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्। सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरनाविरुद्ध अहोरात्र हातेमालो साथ कार्यरत छन्। अनिसँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चामै,’ बाँस्कोटाले लेखेका छन्, ‘तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो? ठाडै खारेज गर, सरकार।’
प्रधानमन्त्री केपी शर्मा ओली निकट बाँस्कोटाले सर्वदलीय संयन्त्र बनाउँदा कोरोना नियन्त्रणमा सरकारले जस नपाउने देखेपछि प्रचण्डको विरोध गरेका छन्। पूर्वमन्त्री बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको डिल गरेको भिडियो सार्वजनिक भएपछि ८ फागुनमा राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।