काठमाडौं- देश तथा विदेशमा कोरोना संक्रमित नेपाली नागरिकको संख्या ८३ पुगेको छ। कोरोनाका कारण विभिन्न देशमा ८ जना नेपालीको ज्यान गएको छ भने उपचारपछि ६ जना (नेपालमा १, साउदीमा ३, युएईमा २) निको भएका छन्।
हालसम्म नेपाली कामदारहरुको आकर्षक गन्तव्य मुलुक बहराइनमा २२ जनालाई कोरोना संक्रमण भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।बहराइनपछि पोर्चुगलमा १४ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
विभिन्न सञ्चारमाध्यम र त्यहाँस्थित गैह्रआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिए अनुसार हालसम्म पोर्चुगलमा १४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको हो। त्यहाँ नेपाली दूतावास नरहेकाले पछिल्लो समयको अपडेट तथा कोरोना संक्रमितहरुको यकिन आँकडा भने आउन सकेको छैन।
युनाइटेड अरब इमिरेट्समा १२ जना नेपालीलाई कोरोना संक्रमण भएको छ भने कोरोनाका कारण १ जना महिलाको ज्यान गएको छ। २ जना निको भएका छन् भने ९ जना उपचाररत छन्।
अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका ८ जना नेपाली विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा हालसम्म ५ जना नेपालीको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ तर सो भन्दा बढी संक्रमित हुनसक्ने आँकलन गरिएको एनआरएनले जनाएको छ। अमेरिकामा कति नेपालीलाई कोरोना संक्रमण भएको छ भन्ने यकिन आँकडा प्राप्त भएको छैन।
साउदीमा ४ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना उपचारपछि काममा फर्किएका छन् भने १ जना उपचाररत छन्। बेलायतमा ३ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। बेलायतमा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् भने १ जना उपचारपछि घर फर्किएको जानकारी प्राप्त भएको छ।
त्यस्तै कुवेत पुगेका ३ र मलेसिया पुगेका १ नेपालीमा कोरोना संक्रमण देखिएको छ। यसैगरी कतारमा २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
नेपालमा विभिन्न मुलुक पुगेर फर्किएका ८ र ती संक्रमितको सम्पर्कमा आएका गरेर ९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न मुलुक पुगेर फर्र्किएको अवस्थाका ८ जना र संक्रमतिको सम्पर्कमा आएर कोरोना संक्रमण भएका १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो। ९ जना मध्ये १ जना निको भएर घर फर्किएका छन् भने ८ जना विभिनन अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको उपचाररत अस्पतालहरुले जनाएको समाचार प्राप्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।