सिन्धुपाल्चोक- सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन्।
पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा रहेका छन्। ठेकेदार प्रकाश श्रेष्ठ सम्पर्कविहीन भएपछि कामदारहरु १० दिनदेखि भोकभोकै परेका हुन्।
मजदुरहरु मेलम्ची वडा नम्बर १० मा बस्दै आएका छन्। देशभर लडकडाउन भएदेखि ठेकेदार भने सम्पर्कविहीन भएका हुन्।
उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन्। अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन्।
‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपतको समयमा सम्पर्कविहीन भएकाले हामी अलपत्रमा परेका छौ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भने, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ।’
उनले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको बताएश्र
अलपत्र पर्नेमध्येका एक रोल्पा त्रिवेणी गाउँपालिकाका कर्णबहादुर खड्का सरकारले राहत दिने भनी धाउँदैमा दिन बितेको बताउँछन्। ‘घर जान मन थियो’, उनले भने, ‘न त जान पाइन्छ, न ठेकेदार फोन उठाउँछ, न त हामी नै केही गर्न सक्छौं।’
ठेकेदारको खोजीमा प्रहरी कार्यालयसम्म पुगेपछि केही नभएको उनीहरुको गुनासो छ।
मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष भक्तबहादुर खड्काले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया सुरु भएको बताए। दैनिक काम गरेर खानुपर्ने श्रमिक भएकाले उनीहरुको विषयमा उचित निर्णय गर्न नगरपालिकामा लेखेर पठाइएको र छिटै राहत दिइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।