भैरहवा- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विशेष गरी स्वास्थ्यकर्मीहरु बढी जोखिममा छन्। त्यही जोखिमलाई मध्यनजर गर्दै मायादेवी च्यारिटेबल फाउण्डेशन र बागेश्वरी असल शासन (बास) रुपन्देहीले संयुक्त रुपमा भैरहवास्थित रण अम्बिका शाह आँखा अस्पतालाई ७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) उपलब्ध गराएका छन्।
स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिममा नै आँखा सम्बन्धि रोगका बिरामीको उपचार गरिरहेका चिकित्सकलाई मध्यनजर गर्दै आँखा अस्पतालमा पिपिई प्रदान गरिएको मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए। उनले आँखा रोगका बिरामीहरुलाई उपचार गर्दा दूरी राख्न नसकिने भएकोले चिकित्सकहरुलाई पिपिई आवश्यक रहेको बताए।
अस्पताललाई पिपिईसहित ४ सय थान सर्जिकल मास्क र ५० थान स्यानिटाइजर उपलब्ध गराइएको बास रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले बताइन्। पिपिई, मास्क तथा स्यानिटाइजर ग्रहण गर्दै रण अम्बिका शाह आँखा अस्पताल विकास समितिका अध्यक्ष सागर प्रताप राणाले सामग्रीको अभावमा जोखिममा काम गरेका चिकित्सकहरुलाई अब पिपिईले काम गर्न थप हौसला प्रदान हुने बताए।
उनले आँखा अस्पतालमा आएका आकस्मिक विरामीहरुको परीक्षण भइरहेको र अस्पताल क्षेत्र अझ जोखिममा रहेकोले पिपिईको नितान्त आवश्यकता रहेको बताए।
यसअघि लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले अस्पताललाई दुई थान पिपिई हस्तान्तरण गरेको उनले जानकारी दिए।
विपद् व्यवस्थापन समितिलाई १५ सय थान मास्क
प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई १५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ। प्रतिष्ठानले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक माहादेव पन्थलाई उक्त मास्क हस्तान्तरण गरेको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै समितिलाई मास्क हस्तान्तरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताए।
त्यस्तै नाकामा अलपत्र १५४ भारतीयहरु राखिएको प्रतिमान–नीमा कलेजको क्वारेन्टाइनलाई स्यानेटाइज गरिएको केसीले जानकारी दिए। प्रतिष्ठानले २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।