काठमाडौं- एलपी ग्यासको बिक्री वितरणमा असहज परिस्थितिको सृजना भएपछि नेपाल आयल निगमले चैत १५ गतेबाट १४ दशमलव २ केजीको सट्टा ७ दशमलव १ केजीको ग्यास सिलिण्डर बिक्री वितरण गर्न उद्योगी तथा डिलरलाई निर्देशन दिएकोमा अहिले आपूर्ति सहज भएपछि पुरानै व्यवस्थाअनुसार भरि सिलिण्डर बेच्न भनेको छ।
आपूर्ति र वितरणमा असहज परिस्थिति देखिएका कारण ७ दशमलव १ केजीका सिलिण्डर बजारीकरण भएकोमा हाल आएर एलपी ग्यासको आयात पर्याप्त मात्रामा भइरहेको, बजारमा बिक्री वितरण सहज भएको र ग्यास उद्योगीहरुसँग भण्डारण, टैंकर तथा सिलिण्डरमा पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी उद्योगीहरुले निगमलाई गराएपछि पुनः १४ दशमलव २ केजीका ग्यास भरी बिक्री वितरण गर्न निगमले निर्देशन दिएको हो।
निगमको बुधबारको निर्णयअनुसार ग्यास उद्योगहरुले बिहीबारबाट प्रत्येक सिलिण्डरमा पुनः १४ दशमलव २ केजी ग्यास भर्ने प्रक्रिया सुरु गर्ने र चैत ३० गतेबाट १४ दशमलव २ केजीका ग्यास सिलिण्डर बजारीकरण गर्दा कुनै पनि ब्राण्डका आधा भरिएका सिलिण्डर मौज्दातमा नभएका विक्रेता मार्फतमात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
अब ग्यास बिक्रेताहरुले आफ्नो मौज्दातमा रहेका कुनै पनि ब्राण्डका ७ दशमलव १ केजीका भरिएका ग्यास सिलिण्डरहरु विक्री वितरण गरिसकेपछि मात्र ग्यास उद्योगबाट १४ दशमलव २ केजीका भरिएका ग्यास सिलिण्डर खरिद गरी बिक्री वितरण गर्न पाउनेछन्।
ग्यास उद्योग तथा विक्रेताहरुबाट ७ दशमलव १र १४ दशमलव २ केजी क्षमताका सिलिण्डरहरु सँगसँगै बिक्री गरेको पाइएमा कारबाही हुने समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।