काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले प्रजातन्त्र पुर्नबहालीको दिनलाई समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटेर मनाउन आह्वान गरेका छन्। चैत २६ को ऐतिहासिक दिनलाई स्मरण गर्दै नेता सिंहले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई सबै मिलेर परास्त गर्नुपर्ने चुनौती आएको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।
कांग्रेस नेता सिंहले बुबाको योगदानको चर्चा गर्दै तत्कालीन समयमा बुबाकै नेतृत्वमा सडकमा मानवसागर उर्लिएको स्मरण गरे। चैत २६ लाई शान्तिपूर्ण जनआन्दोलनमार्फत् प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झना गरिँदै आइएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष जनआन्दोलन दिवसमा कुनै कार्यक्रम नगरिएको उनले प्रष्टाए।
वि.सं. २०४६ सालमा राजनीतिक दलहरुको संयुक्त आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्था घोषणा गरेका थिए। कांग्रेस संस्थापक नेता गणेशमान सिंहको अगुवाइमा जनआन्दोलन भएको थियो। जहानियाँ राणा शासन र पञ्चायती व्यवस्था ढाल्न नेतृत्वदायी भूमिका खेलेपछि राजनीतिक दलहरुले गणेशमानलाई सर्वोच्च कमाण्डर भन्न थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।