काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम गर्न महानगरबासीका लागि विभिन्न कार्यक्रम तथा तयारी गरेको छ। महानगरले सबै वडामार्फत् राहत वितरणदेखि क्वारेन्टाइन निर्माणको तयारी गरिरहेको छ।
राहत वितरणका लागि महानगरले कार्यविधि बनाएरै कार्यान्वयन गरेको छ। तर, क्वारेन्टाइन निर्माणका लागि भने जनशक्ति बाधक बनेको छ। महानगरले क्वारेन्टाइन बनाएपछि आवश्यक पर्ने जनशक्ति नहुँदा तत्काल बनाउन नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। दक्ष जनशक्ति हुने हो भने महानगर १/२ दिनमै क्वारेन्टाइन बनाउन सक्ने अवस्थामा रहेको उनले जानकारी दिए।
'हामी आफ्नोतर्फबाट क्वारेन्टाइन निर्माणका लागि चाहिने ठाउँको पहिचान गरी छलफल गरिरहेका छौं,' डंगोलले नेपाल लाइभसँग भने, 'तर हामीसँग जनशक्ति नभएकाले प्रदेश तथा केन्द्र सरकारलाई आग्रह गरेका छौं।' महानगरभित्र रहेका केही निजी अस्पतालसँग क्वारेन्टाइन बनाउने कुरा भएकाे र उनीहरू सकारात्मक भएकाले जनशक्ति उपलब्ध भए तत्कालै सञ्चालनमा ल्याउन सकिने उनको दावी छ।
महानगरपालिकाले सुरुमा १ सय बेडको क्वारेन्टाइन बनाउने र जनशक्ति थपिँदै गए आवश्यकता अनुसार क्वारेन्टाइन बेड विस्तार गर्दै जाने योजना बनाएको छ।
विदेशबाट आउनेको विवरण संकलन
महानगरभित्र कोरोना भाइरसको संक्रमण देखिएका वा अन्य देशबाट आएका व्यक्तिहरूको पहिचानकाे कामलाई तीव्र बनाइएको छ। ३२ वटै वडासँगै टोलटोलबाट यस्तो विवरण संकलन भइरहेको प्रवक्ता डंगोलको भनाइ छ।
टाेलस्तरमै विदेशबाट आउनेको विवरणा संकलन भइरहेको र १/२ दिनमै महानगरले पूर्ण विवरणा पाउने छ। हाल विदेशबाट आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उनले बताए। विवरण संकलन भएपछि उनीहरूको अवस्था हेरिकन सेल्फ क्वारेन्टाइनमै बस्ने भन्ने वा परीक्षण गराउने वा के गर्ने भन्ने निर्क्यौलमा पुग्न सकिने उनेको भनाइ छ।
राहत बाँड्न प्रत्येक वडालाई २ देखि ४ लाख
काठमाडौं महानगरपालिकाले निम्न आय भएका ज्यालादारी परिवारको निम्ती राहतको कार्यविधि बनाएको छ। ठूला वडालाई चार लाख, मझौलालाई तीन र साना वडालाई दुई लाख रूपैयाँ निकासा गरिएको महानगरले जनाएको छ। आवश्यक परे रकम थप्ने निर्णयसमेत भएकाे छ।
महानगरपालिकाको सोमबार बसेको ४३औं बैठकले कोरोना भाइरसका कारण मर्कामा परेका नागरिकलाई राहत उपलब्ध गराउन उक्त कार्यविधि बनाएको हो। सो कार्यविधिले महानगरका पशुचौपायासम्म कोही भोको नराख्ने विषय समेटेको छ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले कार्यविधि पास गरेसँगै असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्ति पहिचान गरी तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका थिए।
कार्यविधिमा अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्तिलाई असहाय मान्ने उल्लेख छ। त्यस्ता संरक्षण गृहमा बसोबास गर्ने नागरिकले महानगरले वितरण गरेको राहत पाउनेछन्। आम्दानीको स्रोत नभएका, दैनिक गुजारा गरेर छाक टार्न धौधौ नागरिकलाई अतिविपन्न मान्ने र उनीहरूलाई पनि राहत उपलब्ध गराउने महानगरको कार्यविधिमा उल्लेख छ। राहत लिन सम्बन्धित वडाले प्रमाणित गर्नुपर्नेछ।
त्यस्तै संगठित संस्थामा काम गर्ने बाहेक दैनिक ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा राख्ने र उनीहरूलाई पनि राहत दिने महानगरको भनाइ छ।
बैठकले हालसालै विदेशबाट आउने सहितको विवरण संकलनका लागि एकै प्रकारका फारम ३२ वटै वडालाई वितरण गरेको छ। खाद्य सामग्री पनि समान रूपमा वितरण गर्ने बताइएकाे छ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने छाडा पशुचौपाया, कुकुर, बाँदर, चराचुरुङ्गीलाई पनि आहारको व्यवस्था गर्न ३२ वटै वडालाई निर्देशन दिएको छ।
महानगरले सूचना प्रविधिमा आधारित ‘सर्भिलेन्स प्रणाली’लाई ३२ वटै वडामा प्रभावकारी बनाउने पनि बैठकले निर्णय गरेको थियो।
आकस्मिक कोष स्थापना
काठमाडौँ महानगरपालिकाले कोरना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि १० करोड रूपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ। चैत ६ गते बसेको महानगरको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।
उक्त कोषबाट काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडाहरुलाई क्रमश २ लाख, ३ लाख र ४ लाख रूपैयाँका दरले निकाशा पठाउने निर्णय गरेको थियो। हाल वडाहरूले सोही रकमबाट राहत वितरण गरिरहेका छन्।
कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, व्यानर जस्ता प्रचार सामाग्रीहरु निर्माण एवं वितरण गर्ने निर्णयसमेत महानगरको उक्त बैठकले गरेको थियो। साथै काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्प डेक्सहरु स्थापना तथा संचालन गरिने मेयर शाक्यले बताएका थिए।
कोरना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्य प्रभावकारी ढंगले संचालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा अन्तर्गत फोकल प्वाइन्टको रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन भइरहेका छन्।
कोरना भाइरस रोकथाम तथा नियन्त्रण कार्य समन्वयात्मक एवं प्रभावकारी ढंगले सञ्चालन गर्न काठमाडौं महानगरपालिका अन्तर्गत रहेको नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई समेत महानगरले क्रियाशील बनाएको छ। रोकथाम तथा नियन्त्रण कार्यको आवश्यक सहयोगको लागि काठमाडौं महानगरपालिको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२)लाई उच्च सतर्कतामा राखी परिचालन गर्ने निर्णय महानगरले गरेको छ।
चैत ११ मा मेयर शाक्यले जारी गरेको अपिल
कोरोना भाइरसको महामारी रोकथाम र निर्मूल गर्न नेपाल सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म (अहिले बढेर बैशाख ३ गतेसम्म पुगेको)का लागि लागू हुने गरी दिएको निर्देशनलाई स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत् नगरबासीलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेका थिए।
कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको छ। काठमाडौं महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ।
कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ। महामारी नियन्त्रणका लागि महानगरका प्रयास उल्लेख गर्दै मेयर शाक्यले अपिलमार्फत् सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले विक्री वितरण गर्न व्यवसायीलाई आग्रह गरेका थिए।
त्यस्तै मेयर सहित सबै जनप्रतिनिधि र आवश्यक पर्ने कर्मचारीहरूको समेत मोबाइल नम्बर उपलब्ध गराइएको छ। उक्त फोन नम्बरहरु महानगरपालिकाको वेबसाइटमा समेत राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।