काठमाडाैं- बृहस्पति विद्यासदन माध्यमिक विद्यालयले अनलाइनबाट पढाउन सुरु गरेकाे छ। विद्यालयले गत मंगलबारदेखि अनलाइनबाट पढाउन सुरु गरेकाे हाे।
कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई प्रोजेक्टमार्फत् व्यक्तित्व विकाससम्बन्धी कक्षा सञ्चालन गरिएको शिक्षिका एवं मिडिया कोअडिनेटर डोल्मा लामाले जानकारी दिइन्। ‘हामीले भाइबरबाट नोटिस गरी भिडियाे मिटिङमार्फत् ४० देखि ८० मिनेटको कक्षा लिएका छाैं,’ लामाले भनिन्, ‘अभिभावकलाई आइडी पठाउँछौँ र तोकिएको समयमा कनेक्ट हुन आग्रह गछौँ। पहिलो चरणमा बालबालिकाले उमेरअनुसार लाइफ स्किलसम्बन्धी कुराहरु सिकिरहेका छन्।’
एक्सप्लान, इन्गेज, एक्सपर्ट, इभेलुएशनका साथ कक्षा सिकाइ भइरहेको लामाले बताइन्। उनका अनुसार कोरोना भाइरसबारे बालबालिकामा भएको कन्फ्युजन हटाउने र त्यसबारे छलफल गर्ने, घरमा अभिभावकलाई सहयोग गर्ने, सीमित स्रोत साधनमा कसरी रमाउन सिक्ने भन्ने बारे पनि सिकाइ भएको छ।
‘हामीले विद्यार्थीलाई खाना पकाउन भन्यौँ। हामी आफैंले रेसिपी दियौँ,’ लामाले भनिन्, ‘बच्चाहरुले पकाएर हामीलाई फोटो पठाए।’ पाठ्यक्रमको पुस्तकभन्दा पनि बाह्य कुराको सिकाइ भएको उनको भनाइ छ।
बृहस्पति विद्यासदनका प्रधानाध्यापक कुमार थापाले सुरुको चरणमा अनलाइन पढाउन पढ्न सहज महशुस गरुन् भनेर सामाजिक आवश्यकतालाई ध्यानमा राख्दै लाइफ स्किलबारे पढाई सुरु गरेको बताए। ‘हाम्रोमा अनलाइन पढ्ने/पढाउने बानी छैन,' प्रधानाध्यापक थापाले भने, ‘सहज होस्, विद्यार्थी तथा शिक्षकले सहज महशुस गरुन् भनेर अनाैपचारिक कक्षाबाट सुरु गरेका छौँ।’ थापाका अनुसार अहिलेसम्म ६० प्रतिशत विद्यार्थी अनलाइन सम्पर्कमा आएका छन्। अनलाइन सम्पर्कमा नआउनेलाई फोनमार्फत् अनुरोध गर्ने उनले बताए।
परिस्थिति यही रहे अनलाइनबाटै नतिजा पठाउने र पाठ्यक्रमअनुसार अनलाइन कोर्ष गरिने तयारी रहेको थापाले नेपाल लाइभलाई बताए। कोरोना भाइरसको सङक्रमण फैलिन नदिन सरकारले विद्यालय तहका सबै परीक्षा चैत ५ गतेसम्म सक्न निर्देशन दिएको थियो। शैक्षिक सत्र अन्त्यकाे बेला भएका कारण अधिकांश विद्यालयले नतिजा प्रकाशन गर्न पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।