काठमाडौं- काठमाडौं उपत्यकामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बजार अवस्थाबारे बुझ्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार विभिन्न खाद्य गोदाममा अनुगमन गरेका छन्। मन्त्री भट्टले नेपाल खाद्य किराना व्यवसायी संघसँग रहेको खाद्यान्नको मौज्जात अवस्थाका बारेमा समेत जानकारी लिएका छन्।
अनुगमनका क्रममा खाद्य किराना व्यवसायी संघले मन्त्री भट्टलाई गोदाममा प्रयाप्त खाद्यान्न रहेको र भारतबाट आयात हुने खाद्यान्न नियमित आयात भइरहेकाले अभाव नहुने जानकारी गराएको छ। आपूर्ति र वितरणमा रोकावट नभए पनि व्यवसायीहरूले ट्रक चालक तथा लोडर कामदारको आवतजावतका लागि पास व्यवस्था बाहेक कुनै समस्या नरहेको मन्त्री भट्टलाई जानकारी गराएका छन्।
मन्त्री भट्टले कामदारका लागि आवतजावत गर्न तत्काल पासको व्यवस्थापन गर्ने आश्वासन दिँदै ट्रक चालक तथा कामदारहरुलाई खाने, बस्ने व्यवस्था गोदाम नजिकै गर्न व्यवसायीहरुलाई निर्देशन दिएका छन्। राष्ट्र संकटको घडिमा भएका बेला व्यापारीहरूले मुनाफा मात्रै हेरेर काम नगर्न पनि मन्त्री भट्टले व्यापारीसँग आग्रह गरे।
मन्त्री भट्टसँगै वाणिज्य सचिव डा बैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलगायत मन्त्रालयका पदाधिकारीहरु पनि अनुगमनमा निस्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।