काठमाडौं- कोरोना नियन्त्रणका लागि सरकारबाट भइरहेका कार्य र प्रयास ठिक भएपनि कार्यान्वयन पक्ष फितलो देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले कार्यान्वयन पक्ष फितलो भएकाले व्यवस्थापकीय कार्यक्षमता र कार्यशैलीमा सुधार गर्न आग्रह गरेको हो।
साथै विदेशमा रहेका नागरिकहरूलाई पनि सम्बन्धित देशका नागरिक सरह सुरक्षा‚ स्वास्थ्य र अन्य सुविधाको व्यवस्था गर्न राप्रपाले सरकारसँग आग्रह गरेको छ।
१. सिंगो विश्व नै कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट अस्तव्यस्त र भयग्रस्त रहेको अवस्थामा यसको नियन्त्रण तथा सचेतनाका लागि नेपाल सरकारबाट भइरहेको कार्य र प्रयास सिद्धान्त ठिक भएता पनि कार्यान्वन पक्ष निकै फितलो देखिएको छ। आफ्ना निर्णयहरु कार्यान्वनको निमित्त सरकारले व्यवस्थापकिय कार्य क्षमता र कार्यशैलीमा सुधार गर्न राप्रपा सरकारसँग आग्रह गर्दछ। बन्दाबन्दी (लकडाउन) अवधि विस्तार आवश्यक थियो। लकडाउनको अवधि बढाउने सरकारको निर्णयलाई सकारात्मकरुपमा लिँदै लकडाउनलाई अनुशासित एवं मर्यादित ढंगले सफल तुल्याउन सम्पूर्ण नेपाली समक्ष राप्रपा अनुरोध गर्दछ।
२. प्रकोप संक्रमणको नियन्त्रण तथा रोकथामका लागि प्रयास भइरहेता पनि दुर्भाग्यवस नेपाल प्रकोपको दोश्रो चरणमा प्रवेश गरेको छ। यो ज्यादै खतराको संकेत र गम्भिर चिन्ताको विषय हो। सकेसम्म यो परिस्थितिलाई आजको यही बिन्दुमै रोक्न हामी सबै नेपालीको सामूहिक र सार्थक प्रयास अत्यावश्यक भएको छ।
३. प्रकोप नियन्त्रण र राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारहरुलाई थप र स्पष्ट जिम्मेवारी दिन तथा आवश्यक साधन श्रोत उपलब्ध गराउन राप्रपा सरकारको ध्यान आकर्षित गर्दछ। साथै केन्द्र, प्रदेश र स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउनु उपयुक्त हुनेछ।
४. स्थितिलाई अनियन्त्रित एवं विस्फोटक हुनबाट रोक्न सरकारले अविलम्ब थप परीक्षण प्रयोगशाला खडा गरेर र आवश्यक दक्ष प्राविधिक जनशक्ति परिचालन गरेर परिक्षणको दायरा व्यापक तुल्याउन आवश्यक भएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न पनि राप्रपा आग्रह गर्दछ।
५. आवश्यक उपकरण तथा साधन श्रोतको व्यवस्था गरी भारत र अन्य मुलुकबाट स्वदेश फर्किएका सबैको स्वास्थ्य परीक्षण पछिल्लोपटक विस्तार गरिएको लकडाउनको अवधिभित्रै सम्पन्न गर्न तथा आवश्यक क्वारेन्टाइनको व्यवस्था गर्न राप्रपा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछ।
६. यो चुनौतिपूर्ण र जोखिमयुक्त कार्यमा अग्रणी मोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल र उत्साह बढाउन आवश्यक कार्य र व्यवस्था अविलम्ब गर्न राप्रपा जोडदार माग गर्दछ।
७. अष्ट्रेलियालगायत विश्वको विभिन्न मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी तथा अस्थायी रुपमा विश्वका विभिन्न मुलुकमा विविध पेशा–व्यवसायमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिई सम्बन्धित देशका नागरिक सरह स्वास्थ, सुरक्षा र अन्य सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बन्धित राष्ट्रहरुसँग अविलम्ब कुराकानी गरी सोको जानकारी सार्वजनिक गर्न गराउन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।
८. नेपाल र भारतमा बन्दबन्दि (लकडाउन) घोषित हुँदै गर्दा र तत्पश्चात पनि भारतबाट स्वदेश फर्किएका हजारौ हजार नेपाली नेपाल–भारत सीमास्थित भारतीय भूमिमा विल्लिबाठ अवस्थामा रहेका छन्। यसरी दशगजा क्षेत्रमा शरणार्थीको अवस्थामा राखिएका सम्पूर्ण नेपाली नागरिकलाई अविलम्ब स्वदेशभित्र ल्याई आवश्यक जाँच, परीक्षण गरी जे जे गर्न आवश्यक हुन्छ सोही गरियोस् भनी नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।
९. कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणसम्बन्धि चीनबाट सामाग्री खरिद गर्दा एकातिर खरिदमा भ्रष्टाचार भएको र अर्कोतर्फ खरिद गरिएका सामाग्रीहरु गुणस्तरहीन रहेको चर्चासँगै अब उप्रान्तका दिनमा आवश्यक पर्ने उपचारजन्य सामाग्री नेपाली सेना मार्फत खरिद गरेर ल्याउने भन्ने चर्चा व्यापक छ। यदि प्रचारमा आएको कुरामा सत्यताको अंश छ भने योभन्दा निकृष्ट कार्य एवं अपराध अरु हुनै सक्दैन। यसबारे सरकारले अविलम्ब स्वेतपत्र जारी गर्न र अपराध र भ्रष्टाचारमा संलग्न जो कसैमाथि कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गर्दछौं। भ्रष्टाचार र अनियमितताका यी र यस्तै अन्य संवेदनशील विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत गम्भिर ध्यानाकर्षण गराइन्छ।
१०. बन्दाबन्दि (लकडाउन) को कारण ज्याला मजदुरी गुमेर चरम जीविकाको संकटबाट गुज्रिएका न्यून आय एवं आयविहीन अवस्थाका श्रमिकलाई राज्यको तर्फबाट दिन थालिएको राहत र सहयोगमा पूर्ण राजनीतिकरण भइरहेको र सत्तासीन पार्टीका कार्यकर्ता, समर्थक र मतदातालाई मात्र छानिछानी वितरण गरिदै रहेको गुनासो चौतर्फी रुपमा रहेको छ। राप्रपा यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ।
११. कोभिड-१९ को महामारी नियन्त्रण गर्ने कार्यमा राप्रपाको सदैव रचनात्मक सहयोग रहनेछ। यसकार्यमा विभिन्न तहका सरकारबाट चालिने कदममा सहयोग पुराउन पार्टीका सबैतहका निकाय र आम कार्यकर्तालाई आह्वान समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।