काठमाडौं- विश्व बैंकले कोभिड १९ इमरजेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम्स प्रिपियर्डनेस प्रोजेक्टका लागि २९ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको छ। नेपालमा कोरोना रोकथाम, पहिचान र उपचारमा खर्च हुने गरी यो ऋण स्वीकृत गरिएको हो।
अर्थ मन्त्रालय र विश्व बैंकबीच यो ऋण सम्झौतामा हस्ताक्षर भएको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने वित्तीय स्रोत परिचालनमा यो रकम उपयोग गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत खर्च हुने यो रकम उपचार कक्ष निर्माण, आइसियू बेडलगायत निर्माणमा पनि परिचालन हुनेछ।
'असाध्यै छोटो समयमा नेपाललाई यो सहयोग उपलब्ध गराएकोमा हामी विश्व बैंकप्रति आभारी छौँ,' अर्थसचिव शिशिरकुमार ढुंगानाले भने, 'यो रकम कोरोनाको माहामारीबाट बच्न तथा हाम्रो सार्वजनिक स्वास्थ्यमा क्षमता अभिवृद्धिमा खर्च हुनेछ।’
विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जेर्भोसले यो रकम नेपालमा कोरोना रोकथामका अतिरिक्त जनताको ज्यान जोगाउन पनि प्रयोग हुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।