फाइल तस्बिर
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे सचिवालय बैठक सुरु भएको हो।
महामारीका बेला अनियमितताको विषय उठेपछि सचिवालय सदस्य नेताहरूले बारम्बार बैठक राख्न आग्रह गरेपछि नेकपाले सचिवालय बैठक बोलाएको हो।
माहामारीका बेला मेडिकल सामाग्री खरिद प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकार र रक्षामन्त्री इश्वर पोखरेलको संलग्नताको विषय बाहिर आएपछि बैठक बसेको हो। यसले सरकार मात्रै नभई पार्टी नै बदनाम भएको नेताहरुले भन्दै आएका छन्। यस्तै कोरोना नियन्त्रणमा सरकारले खेलेको भूमिकाका विषयमा समेत छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेपछि दोस्रो सचिवालय बैठक हो। यस अघि चैत ६ गते सचिवालय बैठक राखिएको थियो
पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन सार्वजनिक रूपमा नै आग्रह गरेका थिए।
लकडाउनको बेला प्रधानमन्त्री ओलीले सम्बोधन नगरी राष्ट्रपतिले सम्बोधन गरेपछि नेकपाभित्रै विवाद सिर्जना भएपछि मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।