एजेन्सी- कोरोना भाइरसको संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ। उनीको आइतबार रातभर आइसियूमा राखेर उपचार भएको हो।
मेडिकल टिमको सल्लाहअनुसार प्रधानमन्त्री जोनसनलाई आइसियूमा राख्ने निर्णय गरिएको बेलायती विदेशमन्त्री डोमिनिक राबले जानकारी दिए। बेलायतमा हालका लागि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी विदेशमन्त्री राबलाई नै दिइएको छ।
५५ वर्षीय जोनसनमा कोरोना भाइरसको संक्रमण भएपछि गत आइतबार बेलुका अस्पताल भर्ना गरिएको थियो। स्थानीय सयमअनुसार बेलुका ७ बजे उनलाई आइसियूमा राखिएको थियो। प्रधानमन्त्रीलाई सोमबार दिउँसोबाट अक्सिजन दिन सुरु गरिएको थियो। तर‚ उनलाई भेन्टिलेटरमा भने राखिएको छैन।
प्रधानमन्त्री जोनसनलाई आइसियूमा सिफ्ट गराएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका विदेशमन्त्री राबले कोरोना भाइरसको बारेमा सरकारको दैनिक बैठक बोलाएका थिए। उनका अनुसार प्रधानमन्त्रीको योजना र उनको निर्देशनलाई नै पालन गरिएको छ।
बेलायती विपक्षी लेबर पार्टीका नेता सर किर स्टर्मरले प्रधानमन्त्री जोनसनलाई आइसियूमा भर्ना गर्नु दुःखद् भएको बताएका छन्। उनले यस्तो मुस्किल घडीमा देश नै उनको साथ खडा रहेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको स्वास्थ्य लाभको कामना गरेका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले पनि प्रधानमन्त्री छिट्टै निको हुने विश्वासका साथ सन्देश पठाएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैगरी भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री जोनसनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री बोरिसको स्वास्थ्यावस्था आइतबार साँझबाट झन् गम्भीर भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।