रोल्पा- ऊर्जा जलश्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले कोरोना संक्रमणको आशंका गरिएका बिरामी जाँच गर्दा लगाउने मेडिकल सामाग्री उपलब्ध गराएका छन्। मन्त्री पुनका नीजि सचिव सन्तोष पुनमार्फत उक्त सामाग्री रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई हस्तान्तरण गरिएको हो।
हस्तान्तरित मेडिकल सामाग्रीहरुमा पिपिई १०० थान,ग्लोभ्स १ हजार १ सय पचास थान, सेनिटाइजर साढे ६ लिटरको १३ थान र मास्क १ हजार थान रहेको छ। मन्त्री पुनले स्वास्थ्य सेवा विभागसँग समन्वय गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको मन्त्री पुनका नीजि सचिव सन्तोष पुनले जानकारी दिए। उपलब्ध स्वास्थ्य सामाग्रीमध्ये पिपिई स्वास्थ्य सेवा विभागबाट १० र मन्त्री पुनबाट ९० थान, ग्लोभ्स स्वास्थ्य सेवा विभागबाट १ सय ५० थान र मन्त्री पुनबाट १ हजार थान रहेका थिए। उपलब्ध सामाग्रीमध्ये सेनिटाइजर स्वास्थ्य सेवा विभागबाट ५ थान र मन्त्री पुनबाट ८ थान, मास्क स्वास्थ्य सेवा विभागबाट १ हजार थान उपलब्ध गराएको बताइएको छ।
कारोना कमाण्ड पोष्टको मंगलबार बसेको बैठकले उल्लेखित सामाग्री जिल्लाका दशवटै स्थानीय तह, रोल्पा अस्पताल, सामुदायिक आँखा केन्द्र, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र आपतकालीन मौज्दातको रुपमा वितरण गरेको छ। ती सामानहरु रोल्पाका सबै स्थानीय तह, रोल्पा अस्पताल र सुरक्षा निकायहरुमा आवश्यकताका आधारमा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
रोल्पामा स्वास्थ्य संस्थाहरुमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको चेकजाँच गर्दा लगाउने मेडिकल सामग्री नभएको गुनासो आएसँगै मन्त्री पुनले गृह जिल्लामा २ पटक उक्त सामग्री पठाएका हुन्। यसअघि मन्त्री पुनले ४० थान पिपिई, १० थान गन थर्मामिटर र ४ हजार थान मास्क पठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।