काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस विरुद्धको लडाइँमा होमिएको बताएका छन्। नेपालमा अहिलेसम्म ९ जनामा मात्रै संक्रमण भए पनि उच्च जोखिम कायमै रहेको उनले बताएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रमिक, व्यवसायी र विद्यार्थीमा लकडाउनका कारण परेको प्रभाव प्रति आफू सम्बेदनशील रहेको पनि बताएका छन्।
प्रधानमन्त्री ओलीले लकडाउनलाई पूर्ण पालना नगर्ने हो भने जोखिम अझै बढ्न सक्ने पनि बताए।
सीमित पूर्वाधार र स्वास्थ्य सामग्रीको सीमितताका बीच सेवामा खट्ने स्वास्थ्यकर्मीसहित राष्ट्रसेवकको भूमिका प्रसंशनीय रहेको उनले उल्लेख गरेका छन्।
प्रदेश र स्थानीय तहको भूमिका प्रभावकारी रहेको भन्दै जनप्रतिनिधिको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। उनले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको भूमिकाप्रति पनि उनले सम्मान व्यक्त गरेका छन्।
नेपालमै कोरोना संक्रमण भएसँगै नेपाल दोस्रो चरणको जोखिममा परेको उनले बताए। प्रधानमन्त्री ओलीले रोकमथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति र सिसिएमसीले काम अघि बढाइरहेको बताए।
पहिचान, परीक्षण र उपचारका लागि ४ वटा संरचना खडा गरिएको उनले बताए। ओलीले सबैको साझेदारीमा सिसिएमसी सञ्चालन हुने पनि उनले बताए।
मुलुकभर २० हजार ५ सय ६६ जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन तयार रहेको पनि उनले बताए। ९ हजार क्वारेन्टाइनमा रहेको र ३ हजार आइसोलेसन बेड रहेकोमा ९५ जना रहेको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले संक्रमण फैलिन नदिन सबै शक्ति परिचालन गरिरहेको बताए। उनले सोमबारसम्ममा १८ सय जनाको परीक्षण गरिएको बताए। र्यापिड टेस्टमार्फत हजारौँको उपचारको तयारी गरिएको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले यसबीच हजारौँ मानिस स्वदेश फर्किएको र उनीहरुले सरकारको आग्रहअनुसार क्वारेन्टाइनमा बस्न अस्वीकार गर्दा त्यसको मूल्य समाजले चुकाउनुपर्ने बताए।
उनले संक्रमणको जोखिम न्यूनीकरण गर्न सीमाको पारि रहेका २१४७ नेपालीलाई उतै क्वारेन्टाइनमा राखिएको र नेपालमा ७ सय भारतीयलाई क्वारेन्टाइनमा राखिएको उल्लेख गरेका छन्। निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याइने उनले उल्लेख गरे।
विदेशमा रहेका नेपालीहरुका समस्या समाधानका लागि दूतावासहरु सक्रिय रहेको उनले बताए। नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीसँग आफूले टेलिफोन गरिरहेको उनले जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले अबको २ साता नेपालका लागि उच्च जोखिमपूर्ण हुन सक्ने बताएका छन्।
यसैहप्ताबाट प्रयोगमा ल्याएको र्यापिड टेस्ट किटले समुदायमा संक्रमितहरुको पहिचानमा सहयोग गर्ने उनले बताएका छन्। सिसिएमसीले संभावित जोखिमपूर्ण जिल्लामा जनशक्ति परिचालन गरिसकेको पनि उनले बताए।
उपचारको पहिलो घेरामा रहनेलाई शत प्रतिशत तथा दोस्रो घेरामा रहनेलाई ७५ र तेस्रो घेरामा ५० प्रतिशत भत्ताको निर्णय भइसकेको उनले बताए। प्रधानमन्त्री ओलीले सुरक्षाकर्मी, चालक, हेल्परसहित सबैलाई सुरक्षाकर्मीलाई चिकित्सकसहित सुविधा दिइने पनि उल्लेख गरे। उनले यतिबेला जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने प्रश्नमा अल्झन नहुने पनि बताए। जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानवअधिकार भएको उल्लेख गरे।
मानव सभ्यतामा उच्च लगानी गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको पनि ओलीले बताए। सरकारले स्वास्थ्य सामग्री आपूर्ति प्रक्रियासम्मत हुने पनि ओलीले बताए। उनले सरकारले गरेका निर्णय कुनै पनि संवैधानिक निकायको परीक्षणको दायराभन्दा माथि हुन नसक्ने पनि उल्लेख गरे। सरकारले भ्रष्टाचार र अनियमिततामाथि निर्ममतापूर्वक कारबाही गर्न पछि नपर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।