कैलाली–कैलाली र कञ्चनपुरमा कोराना भाईरस (कोभिड–१९) को र्यापिड टेस्ट (द्रुत जाँच) का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएको ६ सदस्यीय स्वास्थ्य प्राविधिकको टोलीले मंगलबारदेखि कैलाली र कञ्चनपुरमा काम सुरु गरेको छ।
सोमबार साँझ काठमाडौंबाट धनगढी आएको स्वास्थ्य प्राविधिकको टोलीमा धनगढीका प्राविधिक पनि सहभागी छन्। मंगलबार बिहान छुट्टाछुटै टीम बनाएर प्राविधिकको टोली कैलाली र कञ्चनपुरमा परिचालन भएको हो।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीको लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा र्यापिड टेष्ट गर्ने बताए।
छुट्टाछुट्टै रुपमा कैलाली र कञ्चनपुरमा खटिएको टोलीले दुईटै जिल्लामा सय–सय जनाको नमूना संकलन गर्ने छ।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो।
उक्त टोलीले कैलाली र कञ्चनपुरमा भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए–नभएको पत्ता लगाउन थ्रोट स्वाबको नमूना संकलन गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।