काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार मात्रै ६ सय ९३ नयाँ संक्रमित पुष्टि भएको छ।
सोमबार बढेका संक्रमितको संख्यासंगै भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ६७ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट १ सय ९ जनाको ज्यान गइसकेको छ।
कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी छ। तर तीव्र रुपमा संक्रमण फैलिइरहेको छ। भारतका कोरोना संक्रमितमध्ये ४७ प्रतिशतको उमेर ४० वर्षभन्दा कम छ। ३४ प्रतिशत ४० देखि ६० उमेर समूहका छन् भने ६० माथिका १९ प्रतिशत मात्र छन्। संक्रमितमध्ये ७६ प्रतिशत पुरुष र २४ प्रतिशत महिला छन्।
महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण फैलिएको छ। त्यहाँ संक्रमितको संख्या ८ सय ६८ पुगिसकेको छ। संक्रमितहरुमा २६ जना नर्स छन् भने तीन जना डक्टर पनि कोरोना संक्रमणमा परेका छन्। भोपालमा कोरोना संक्रमितको संख्या ४१ पुगिसकेको छ। अन्य शहरमा पनि संक्रमणको फैलिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।