नयाँ दिल्ली- भारतको मुम्बईस्थित वर्कहार्ट अस्पताल परिसरलाई क्वारेन्टाइन जोन घोषणा गरिएको छ। अस्पतालमा काम गरेका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको संक्रमण भेटिएपछि मंगलबार मुम्बई म्युनिसिपल कर्पोरेसन(बिएमसी)ले उक्त अस्पताललाई क्वारेन्टाइन क्षेत्र घोषणा गरेको भारतीय अनलाइन द प्रिन्टले जनाएको छ।
काम गरेको एक हप्तमा ती नर्स र डाक्टरहरुलाई कोरोना भाइरसको संक्रमण देखा परेको थियो। अस्पतालका एक अधिकारीका अनुसार अस्पतालमा रहेका बिरामीहरुलाई दुई पटक चेकजाँच गरी कोरोना भाइरस नेगेटिभ नपाएसम्म नयाँ बिरामी नलिने भएको हो।
वर्कहार्ट अस्पतालमा खटिरहेका २७० जना कामदारहरुको परीक्षण भइसकेको छ।
अस्पतालमा भर्ना भएका एक ७० वर्षीय वृद्ध जो हर्टअट्याकपछि अस्पताल भर्ना भएका थिए। उनको अस्पतालमै २७ मार्चमा मृत्यु भएको थियो। उनमा कोरोना परीक्षण कोरोना पोजेटिभ पाइएको थियो।
वृद्ध बिरामीलाई चेकजाँच गर्ने दुईजना नर्सलाई पनि भाइरस पोजेटिभ देखिएपछि अस्पतालले यस्तो घोषणा गरेको हो। त्यसपछि अस्पतालमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको आशंका गरिएको छ। कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई अर्को अस्पतालमा भर्ना गरेर उपचार सुरु भएको द प्रिन्टले जनाएको छ।
भोपालमा ४ स्वास्थ्यकर्मी र पाँच प्रहरी पनि संक्रमित
भारतको मध्य प्रदेशको राजधानी भोपालमा अत्यावश्यक सेवामा खटिएका प्रहरी र स्वास्थ्यकर्मी गरी नौ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। कोरोनाबाट चार स्वास्थ्यकर्मी र पाँच प्रहरीको रिर्पोट पोजेटिभ आएको हो। भोपालमा हालसम्म ५४ जना कोरोना संक्रमणका बिरामी रहेका छन्। त्यसमध्ये एक जनाले ज्यान गुमाएका छन्।
२४ घन्टामा १३ को मृत्यु‚ ६ सय ९३ जनामा भाइरस पोजेटिभ
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा कोरोना भाइरसका कारण १३ जनाले ज्यान गुमाएका छन् भने ६ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या ४ हजार ३ सय पुगेको छ।
हरियाणामा गाउँ नै शिल गरियो, २५ हजार क्वारेनटाइनमा
गृह मन्त्रालयका अनुसार दिल्लीको धार्मिक सभामा भाग लिएका व्यक्तिसँग सम्पर्कमा रहेका २५ हजार मानिसलाई क्वारेनटाइनमा राखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १४ सय ४५ जना दिल्लीको तललीगी जमातसँग जोडिएका मानिसमा कोरोना पोजेटिभ पाइएको छ।
त्यस्तै तवलीगी जमातसँग जोडिएका हिमाञ्चलका १२ जनाले आफैलाई क्वारेनटाइनमा राखेका छन्। उनीहरुले आफूसँगै ५२ जनालाई क्वारेनटाइनमा राखेका हुन्। उनीहरु दिल्लीमा भएको धार्मिक सभामा भाग लिएका फर्केका थिए। उक्त सभामा भाग लिएका व्यक्तिहरुमा धमाधम कोरोना संक्रमण देखिएको र केही व्यक्तिले ज्यान समेत गुमाएपछि उनीहरुले आफैंलाई क्वारेनटाइनमा राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।