काठमाडौं- विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)सम्बन्धी जानकारी दिन गृह मन्त्रालयले वेबसाइट र क्वारेन्टाइनको निगरानी गर्ने एप संचालनमा ल्याएको छ।
मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालनमा ल्याएका उक्त वेबसाइट र एपको सोमबार गृह मन्त्रालयमा एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा बादलले शुभारम्भ गरेका हुन्।
एपले क्वारेन्टाइनमा रहेका मानिसको अवस्थाको निगरानी गर्ने बताइएको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एप राज्यका निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि मात्रै प्रयोग गरिने जानकारी दिए। सोमबारबाटै काठमाडौं, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट एकसाथ यो एप प्रयोगमा ल्याइँदै छ।
एपमा विशेष प्रकारण कोड राखिएको हुन्छ। उक्त काकेमार्फत् नै लगइन गरेर प्रयोगमा ल्याइने जानकारी दिइएको छ। एप प्रयोगमा ल्याएपछि सम्बन्धित मानिस क्वारेन्टाइनमा बसेको छ/छैन भन्नेबारे जानकारी लिन सकिन्छ। क्वारेन्टाइनमा बस्नुपर्ने मान्छे नबसेको पाइएमा त्यसको सूचना निगरानी गर्ने कार्यालयमा तत्कालै पुग्ने भएकाले त्यस्ता व्यक्तिलाई निगरानी गर्न एपले सहयोग गर्ने पोखरेलको भनाइ छ।
यसअघि क्वारेन्टाइनमा बस्नुपर्ने मानिससमेत नबसेकाले पहिचान गर्न गाह्रो भएकाले एप प्रयोगमा ल्याइएको हो। अब भने त्यो समस्या हट्ने प्राधिकरणले दाबी गरेको छ।
त्यसैगरी कोरोना भाइरससम्बन्धी जानकारी दिन छुट्टै एप ल्याइएको छ। 'कोभिड-१९ डट एनडिआरआरएमए डट जिओभी डट एनपी लगइन गरी कोरोना सम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ।
वेबसाइटमा ७७ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्कको दैनिक अपडेट गरिन्छ। कति जना कोरोना संक्रमित छन्, क्वारेन्टाइनमा रहेकाको संख्या कति छ लगायतको जानकारी राखिएको हुन्छ। एप र वेबसाइटको उद्घाटन गर्दै मन्त्री थापाले यो सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।