डडेल्धुरा- सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएपछि यस क्षेत्रमा उच्च सतकर्ता अपनाउन थालिएको छ। सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गरेसँगै डडेल्धुराका स्थानीय तहले एक गाउँबाट अर्को गाउँ जानसमेत नपाउने निर्णय गरेका छन्।
भित्रि मधेसमा पर्ने परशुराम नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाएको छ। आइतबार एक अपिल जारी गर्दै नगरप्रमुख भीमबहादुर साउदले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाएको जानकारी गराए।
अधिंकाश स्थानीय तहका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। स्थानीय तहले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि एक वडाबाट अर्को वडा तथा एक गाँउबाट अर्को गाउँमा जान रोक लगाएका छन्।
‘नेपाल सरकारले देशभर लकडाउन गरेको समयमा अमरगढी नगरपालिका र वडा कार्यालयहरूबाट थप बनाउन लकडाउनको अवधिमा एक वडाबाट अर्को वडा, एक वस्तीबाट अर्को वस्ती र एक घरबाट अर्को घरमा समेत आवतजावत गर्न पूर्ण निषेध गरेका छौं।’ नगरप्रमुख विशेश्वर प्रशाद ओझाले भने, ‘कही कतै नियमको उल्लघंन गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिनेछ।’ अहिले हामीले २ वडालाई सिल नै गरेका छाैं, उनले भने।
शनिबार सुदूरपश्चिममा एकैसाथ तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि गाँउपालिकाले सजकता अपनाएको नबदुर्गा गाउँपालिका अध्यक्ष कविद्र विष्टले बताए। जिल्लाका ७ स्थानीय तहले एक सार्वजनिक सूचना नै जारी गरी घरमै बस्न आग्रह गरेका छन्। नयाँ बर्ष २०७७ हुने मेला तथा पशुवलीमा समेत स्थानीय तहहरुले रोक लगाइको अध्यक्ष विष्टले बताए। डडेल्धुरामा लकडाउन भएको ७ दिनपछि आएका ९४ जनालाई अनिर्वाय क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।
शनिबार कैलालीमा एक महिला र एक पुरुष गरी दुई जना र कञ्चनपुरमा एक जना पुरुषमा कोरोना भाइरस देखिएकाे भएको हो। उनीहरू मध्ये दुई जना भारतबाट आएका व्यक्ति हुन् भने एक जना सातौं संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजू हुन्। नेपालमै पहिलो एक जनामा स्थानीय संक्रमण देखिएपछि यहाँका सबै क्षेत्रमा उच्च सर्तकता अपनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।