काठमाण्डौं– ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुनले गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, स्यानिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।
पर्याप्त पिपिईको अभावमा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका बेला उनले पिपिई सेट १ सय १० थान पठाएका हुन्। यस्तै पञ्जा १ हजार थान, आधा लिटरको स्यानिटाइजर १३ वटा र मास्क १ हजार थान रोल्पा पठाएकाे बताइएकाे छ।
ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए। रोल्पाका १० वटै पालिकामा ती सामग्री पुग्नेछन्। जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको थियाे।
यसअघि मन्त्री पुनकै पहलमा ४० थान पिपिई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत् सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।